एसपी रिपोर्टर
रौतहट, फागुन २४ : जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा प्रहरी भएको भन्दै किसानसँग पैसा मागिरहेका एक व्यक्ति सक्कली प्रहरीले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा गरुडा नगरपालिका-८, बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।शुक्रवार दिउँसो गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले आफू घुमुवा प्रहरी भएको भन्दै किसानको मलखाद रोक्दै पैसा मागिरहेको भन्ने सूचना पाएपछि प्रहरी चौकी बिर्ताबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो।
हाल आलमलाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।