एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २१ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खुला सीमा नाकाबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्।
बुधबार उनले मधेस प्रहरी प्रमुख लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख कालीदास धौवजीलाई भारतबाट भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, मासु, कार्टुन र भ्याक्सिनको अवैध ओसारपसार रोक्न कडा कदम चाल्न भने।नेपाल लेयर्स कुखुरापालक संघले बर्डफ्लु जोखिम र पोल्ट्री व्यवसायमा परेको संकटबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएपछि उनले सुरक्षा निकायलाई अवैध आयात हुने नाका पहिचान गरी कडाइ गर्न निर्देशन दिएका हुन्।
मुख्यमन्त्री सिंहले अवैध आयात रोक्न, बिक्री–वितरण निषेध गर्न र जनस्वास्थ्यमा पर्ने असरबारे चेतना फैलाउन समेत जोड दिएका छन्।