एसपी रिपोर्टर
सप्तरी ,फागुन १९ : सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागुऔषध गाँजा बरामद गरेको छ। राजविराज नगरपालिका–९ मा रहेको उक्त गोदाममा विशेष सूचनाका आधारमा सुरक्षा टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख डकेन्द्र खतिवडाका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले छापा मारेपछि ८० बोरा गाँजा बरामद गरिएको हो। हाल गोदाममा खोजतलास कार्य जारी रहेको उनले जानकारी दिए।प्रहरीका अनुसार, उक्त गोदाममा कपडा, हार्डवेयर सामग्री तथा स्याउसमेत राखिएको छ। तर, गोदाम कसको हो भन्नेबारे अझै खुल्न सकेको छैन।
बरामद गरिएको गाँजाको नापतौल गर्ने काम भइरहेको र थप अनुसन्धान जारी रहेको प्रहरी प्रमुख खतिवडाले बताए।