एसपी रिपोर्टर
राजविराज,फागुन १९ : सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको छ। बाघको आक्रमणबाट दुई जना घाइते भएका छन्।
घाइते हुनेमा ४३ वर्षीय कृष्ण विष्ट र ५५ वर्षीय गणेश खत्री रहेका छन्। उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर उदय कुमार राईले जानकारी दिए।प्रहरीका अनुसार आज बिहान करिब सात बजे बाघ वस्तीमा पसेको सूचना प्राप्त भएपछि फत्तेपुर प्रहरी टोली र कोशीटप्पु वन्यजन्तु आरक्षको टोली तत्कालै घटनास्थलमा पुगेको थियो।
अनुमानअनुसार उक्त बाघ कोशीटप्पु वन्यजन्तु आरक्षबाट वस्तीमा आएको हो। हाल बाघलाई जंगल फर्काउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।