एसपी रिपोर्टर महोत्तरी फागुन १७ : मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि मटिहानी नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ।
नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको यस परिक्रमाका यात्रीको स्वागतका लागि बिदा दिइएको हो। परिक्रमाको चौथो दिन ‘डोला’ सहितका यात्री मटिहानी आइपुग्ने परम्परा रहेको छ।महोत्तरीमा यात्राका क्रममा मटिहानीसहित जलेश्वर, महोत्तरी गाउँपालिका, बलवा, र भङ्गाहा नगरपालिकामा रात्रि विश्राम हुने भएकाले यी स्थानमा समेत बिदा दिइँदै आएको छ।
गत बिहीबार धनुषाको मिथिला विहारी मन्दिरबाट सुरु भएको यो यात्रा १६औँ दिन जनकपुरधाममा सम्पन्न हुनेछ। साधुसन्त तथा सर्वसाधारण गरी हजारौँ श्रद्धालु परिक्रमामा सहभागी छन्।