एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १६ :सत्तारूढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदल बैठकले संसद्मा विधेयकहरू प्रस्तुत गर्ने निर्णयसँगै जसपा नेपाल र लोसपाको असहमति हटाउन सक्रिय पहल गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा संविधान कार्यान्वयनसँग सम्बन्धित र नियमित विधेयकहरू अघि बढाउने सहमति भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। साथै, संसदमा विचाराधीन विधेयकहरूलाई छिटो अघि बढाउन एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले द्रुत गतिमा काम गर्ने निर्णय गरेका छन्।
बैठकमा अध्यादेशका विषयमा पनि छलफल भयो। आगामी फागुन २१ गते बस्ने संसद् बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्न सत्तापक्षका दलहरूसँग छलफल गरेर समझदारी कायम गर्ने सहमति जुटाइएको बर्तौलाले बताए। उनका अनुसार, विशेष रूपमा जसपा नेपाल र लोसपासँग छलफल गरेर अध्यादेश पेस गर्ने समझदारी कायम गरिनेछ।
बैठकमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेस महामन्त्री गगन थापा अनुपस्थित थिए। उनीहरू काठमाडौं बाहिर भएकाले बैठकमा सहभागी हुन नसकेको बताइएको छ। बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे उपस्थित थिए।
सरकारले ल्याएका ६ अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशमा लोसपा र जसपाले विरोध जनाउँदै आएका छन्। राष्ट्रिय सभामा सत्तापक्षको बहुमत नपुग्दा ती अध्यादेशहरू निर्णयार्थ पेस हुन सकेका छैनन्। जसपा र लोसपाको असहमति हटाउन सत्तापक्षले थप छलफल गर्ने तयारी गरेको छ।