एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १६ :सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८, तोपमा आयोजित भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले बिचौलियासँग साँठगाँठ गरी मलको कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाएका छन्।
उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग मिलेर नाफा कमाउने प्रयास गरिरहेको बताए। “हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या थिएन। तर अहिले कांग्रेस–एमालेको सरकार बनेपछि विशेष गरी तराई–मधेशसहित देशभर नै मलको संकट गहिरिएको छ,” प्रचण्डले भने। उनले सरकार र बिचौलियाबीचको सेटिङकै कारण किसानहरू पीडित भएको उल्लेख गर्दै यसविरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय किसानहरूले मलखाद, बिजुली, र सिंचाइ समस्याबारे गुनासो राखेपछि प्रचण्डले ऊर्जा मन्त्रालयसँग समन्वय गरी समाधानका लागि पहल गर्ने आश्वासन दिए।