एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १० :
नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थिरताका लागि जनताको चाहना अनुसार नै वर्तमान गठबन्धन सरकार बनेको बताउनुभएको छ।
जनकपुरधाममा आयोजित “राष्ट्र निर्माणमा युवाको योगदान: तथ्यमा आधारित प्रचार अभियान” उद्घाटन गर्दै उहाँले आम जनताले स्थिर, सबल तथा सुशासनयुक्त सरकारको माग गरेकाले नेपाली कांग्रेस र नेकपा एमालेको सहभागितामा वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभयो।
सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेश रहर नभई बाध्यता भएको भन्दै उहाँले विधि र प्रक्रिया मिलाएर संशोधन गरिने स्पष्ट पार्नुभयो।
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले पार्टीका महत्वपूर्ण कार्यहरूको उचित प्रचारप्रसार नभएको र ‘मिसन ८४’ अन्तर्गत कार्यकर्ताहरूले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो। अनुशासन विभाग प्रमुख आनन्द ढुंगानाले कांग्रेसको योगदान जनताको घर-घरमा पुर्याउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा केन्द्रीय सदस्य मिन विश्वकर्मा, मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशल किशोर यादव, उपसभापति चन्द्रशेखर यादवलगायतका वक्ताहरूले यस्ता कार्यक्रमहरू गाउँ-गाउँमा लैजान आवश्यक रहेकोमा जोड दिनुभयो।