एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ६ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले महिलाहरुको सशक्तिकरण पार्टीका लागि एक महत्वपूर्ण एजेन्डा भएको बताउँदै समाजको सबै क्षेत्रका महिलाहरुको उचित प्रतिनिधित्वको आवश्यकतामा जोड दिएका छन् ।
नेपाली कांग्रेस महिला विभागद्वारा जनकपुरधामस्थित कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित ‘नेपाली कांग्रेस महिला नेतृत्वको अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिला नेतृत्वको समृद्धिको लागि काग्रेसको प्रतिबद्धता र कसरतको सन्दर्भ प्रस्तुत गर्दै महत्व दर्शाएका छन् ।
मधेश प्रदेशमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण धारणा व्यक्त गरेका उनले महिलाको प्रतिनीधित्व विस्तार गरिनुपर्ने साथै प्रतिनिधित्व प्रभावकारी समेत हुनुपर्ने बताए । महिलाहरु महिलाको थप विकास र सहभागिता बारे आवाज बुलन्द गर्न आवश्यक रहेको उनको तर्क थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले नेपाली काँग्रेस जनप्रिय पार्टी रहेको हुँदा नेताहरु पनि जनप्रिय बन्नु पर्ने बताइन । नेपालको संविधान र नेपाली काँग्रेसको विधानले प्रदत्त गरेको महिलाहरुको पहिचान र अधिकारलाई अन्य दल भन्दा फरक ढंगबाट विष्लेशन गरेर नेतृत्व गर्ने नेताहरुको भुमिका दरो हुनुपर्नेमा उनले जोड दिइन् ।
क्रान्तिको भुमि मधेश प्रदेश रहेको र नेपालमा संटक पर्दा मधेशका महिलाहरु पनि पुरुषको काँधमा काँध मिलाएर आफनो मजबुत भुमिका निर्वाह गर्दै आएको हुँदा महिला नेतृत्वलाई अवसर प्रदान गरिएमा संगठन बलियो हुने विश्वास उनले व्यक्त गरिन् । केन्द्रीय महिला विभागले सात वटै प्रदेशमा यस्ता कार्यक्रम गर्न लागिएको स्पष्ट पार्दै महिला विभाग प्रमुख भुसालले हामीले प्राप्त गरेको हक र अधिकारलाई नेपाली काँग्रेसले कति दियो ? त्यसको विश्लेषण गर्नुपर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा लिएको बताईन् ।
साँसद, मन्त्रि र प्रधानमन्त्री बन्छु भनेर आन्दोलन नभएको नगरेको बताउदै उनले विकास समृद्धि र लोकतन्त्रको लागि आन्दोलन भएकाले लोकतान्त्रिक मूल्य मान्यताका लागि संगठनलाई बलियो बनाउनुपर्ने जिकिर उनको थियो । अब नेपाली काँग्रेसको काँधमा देशको जिम्मेवारी ल्याएर लोकतन्त्रको जगलाई बलियो बनाउनु पर्ने उनले तर्क गरिन ।
कार्यक्रममा सहमहामन्त्री महेन्द्र यादवले महिलाको सहभागिता र सश्तिmकरण बिना कुनै पनि पार्टी र समाज अपुरो हुने बताए । उनले महिलाहरुको योगदानलाई कांग्रेसले सम्मान गरिरहेको पनि बताए । सो अवसरमा प्रदेश सांसद रामसरोज यादव सहितका नेताहरु र विभिन्न प्रदेशबाट आएकी महिला विभागकी सदस्य र अगुवाहरुको उपस्थिती थियो ।