एजेन्सी
भारत, उत्तर प्रदेश, माघ ३० : भारत उत्तर प्रदेशको अयोध्या स्थित प्रसिद्व रामलला मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । उनको ८७ वर्षको उमेरमा बुधबार बिहान ७ बजे लखनउ पीजीआईमा निधन भएको हो ।
गत ३ फेब्रुअरीमा उनलाई मस्तिष्क घात भएको थियो । उनको पार्थिव शरीरलाई अयोध्या ल्याइने छ । उनको आश्रम सत्य धाम गोपाल मन्दिरमा अन्तिम दर्शनका लागि राखिने छ ।
दास ३२ वर्षदेखि राम जन्मभूमिमा मुख्य पुजारीका रुपमा सेवारत थिए । उनले ६ डिसेम्बर १९९२ मा बाबरी विध्वंशको समयमा रामललालाई बोकेर काखमा लिएर भागेका थिए । उनको जन्म सन् १९४५ को २० मे मा सन्तकबरनगर जिल्लामा भएको थियो । उनी आफ्ना पिता अभिराम दाससँग पहिलो पटक अयोध्या आएका थिए ।
अभिराम तिनै थिए जसले राम जन्मभूमिमा सन् १९४९ को २२ र २३ डिसेम्बरमा गर्भगृहमा राम, लक्ष्मण, भरत, शत्रुघ्न र सीताको मूर्ति प्रकट भएको दाबी गरेका थिए । दासको निधन प्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राम मन्दिर ट्रष्ट परिवारले दुःख व्यक्त गर्दै भावुकताका साथ एक कुशल मार्गदर्शक गुमाएको बताएको छ ।