एसपी रिपोर्टर
जनकपुरधाम, माघ २८ :
नेकपा (एमाले) सम्भुनाथ नगर कमिटीको आयोजनामा सप्तरीको सम्भुनाथ नगरपालिका–४, सखुवा धातिमा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नेकपा (एमाले) महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्य तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सल्लाहकार परिषद सदस्य सत्यनारायण मण्डल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य विनोद चौधरीको नेतृत्वमा सयौं कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्। उनीहरू विभिन्न दल माओवादी केन्द्र, नेपाली कांग्रेस लगायत पार्टी परित्याग गरी सुखी नेपाली, समृद्ध नेपालको अभियानमा एमालेमा सामेल भएका हुन्।
नवप्रवेशीलाई स्वागत गर्दै महासचिव पोखरेलले भन्नुभयो, “एमाले सदैव श्रमिक, किसान, युवा, विद्यार्थी र पछि परेका वर्गको पक्षमा रहेको छ। विकासको संवाहक एमाले भएकाले मधेश र सप्तरीको विकासका लागि यसको विकल्प छैन।”
त्यस्तै, मन्त्री लेखीले सप्तरीमा एमालेको लोकप्रियता बढ्दै गएको दाबी गर्दै भन्नुभयो, “किसान आन्दोलनको उद्गमस्थल सप्तरीमा भएको यो पार्टी प्रवेश कार्यक्रमले नेकपा एमालेको पक्षमा जनलहर बढेको संकेत गर्छ।”