सोनु साह
जनकपुरधाम, माघ २३ : नेपाल पत्रकार महासंघ धनुषा र मधेश प्रदेशको पहल तथा अगुवाईमा संसदीय मामिला पत्रकार समाज, जनकपुरधामको नयाँ कार्यसमिति र सल्लाहकार समिति गठन गरिएको छ ।
यस अघि २०७४ साल तिर समन्वयको अभावमा नेपाल पत्रकार महासंघकी तत्कालिन उपाध्यक्ष मनिका झा र कान्तिपुरका मधेश ब्युरो प्रमुख अजित तिवारीको नेतृत्वका अलग अलग समिति (समाज र मञ्च) बन्दा राम्रो काम गर्न नसकेर ओझेलमा परेको थियो । दुईवटा टिम बन्दा प्रदेशसभा र तत्कालिन सभामुखहरु कस्लाई आधिकारिक मान्ने ? अन्यौलमा पर्दा समस्या भएको थियो ।
बुधबार नेपाल पत्रकार महासंघ धनुषाको शास्त्री सभाकक्षमा महासंघ धनुषाका अध्यक्ष पुरन साहको अध्यक्षता र अगुवाई, तत्कालिन दुवै समितिका अध्यक्षहरु झा र तिवारी समेतको उपस्थितीमा सम्पन्न भएको पत्रकारहरुको भेलामा छलफल र परामर्शपछि विरेन्द्र रमणको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिमा वीरेन्द्र रमणलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने महासंघ मधेश प्रदेशका सचिव हदिश खुद्दारलाई उपाध्यक्षको रूपमा चयन गरिएको छ । सचिव पदमा विकास कुमार साह चयन भएका छन् भने सह–सचिवको जिम्मेवारी कमलेश कुमार ठाकुरले सम्हाल्ने भएका छन् । कोषाध्यक्षको पदमा लक्ष्मी चौधरी चयन भएकी छन् ।
अन्य सदस्यहरूमा नविन सिंह, संजय साह, चाँदनी झा, माला राय, राजा झा र संजय यादवलाई चयन गरिएको छ । त्यसै गरि भेलाबाट सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, निवर्तमान अध्यक्ष मनिका झा, अजित तिवारी, श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् । सल्लाहकार समितिले कार्यसमितिलाई आवश्यक सुझाव र मार्गदर्शन गर्नेछ ।
यो समितिले संसदीय मामिलामा जनकपुरधाममा कार्यरत पत्रकारहरूबीचको समन्वय, समाचार संकलनमा हुने कठिनाई समाधान र पत्रकारिताको उच्च मापदण्ड कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।