एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेश सभाले समृद्धि, विकास तथा सामाजिक विकृति उन्मूलन गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको छ।
सातौँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले प्रदेश सभामाथि लाग्ने आरोप चिर्न आर्थिक अनुशासन आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै, संघीयता र गणतन्त्रको संस्थागत विकासका लागि प्रदेश सरकार र सभासद्हरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो।
मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारले विभिन्न बाधा र व्यवधानका बाबजुद सुशासन र विकासका लागि निरन्तर कार्यरत रहेको र यसको परिणाम चाँडै देखिने बताउनुभयो।
सभामुख रामचन्द्र मण्डलले संघीय शासन प्रणाली लागू भएपछि मधेशका गाउँहरू शहरमा रूपान्तरण हुँदै गएको उल्लेख गर्नुभयो।
भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रहरी समायोजनसहितको संघीयतालाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेशको समृद्धि र विकासका लागि शिक्षामा लगानी वृद्धि अपरिहार्य रहेको बताउनुभयो।
खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले प्रदेश सभाले सुशासन र विकासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेपाली कांग्रेसका नेता रामसरोज यादवले मधेश प्रदेशको समृद्धिका लागि प्रहरी तथा निजामती कर्मचारीको शीघ्र समायोजन आवश्यक रहेको बताउनुभयो। वार्षिकोत्सव कार्यक्रममा विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गरे।
यस अवसरमा सर्वोत्कृष्ट प्रदेश सभा सदस्यका रूपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादव र सर्वोत्कृष्ट कर्मचारीका रूपमा रेडियो नेपालका प्राविधिक अधिकृत इन्द्र कुमार बहरखेललाई सम्मानपत्र तथा नगदसहित प्रदेश प्रमुख भण्डारीले सम्मान गर्नुभयो। कार्यक्रममा विविध खेलकुद प्रतियोगिताका विजयी प्रदेश सभा सदस्यहरू र कर्मचारीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो।