एसपी रिपोर्टर
जनकपुरधाम, माघ २० :
सप्तरी जिल्लाको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका विभिन्न वडाहरूमा मधेश प्रदेश सरकारका गृहमन्त्री राजकुमार लेखीले विकास योजनाहरूको स्थलगत निरीक्षण तथा स्थानीय जनसमुदायसँग अन्तरक्रिया गरेका छन्। चालू आर्थिक वर्ष २०८१/८२ मा संघीय तथा प्रदेश सरकारको वार्षिक बजेटमा परेका विभिन्न योजनाहरूको प्रगति समीक्षा गर्न गृहमन्त्री लेखी उक्त क्षेत्रको भ्रमणमा पुगेका हुन्।
गाउँपालिका–२ मा “एक निर्वाचन, एक सडक कार्यक्रम” अन्तर्गत इटहर्वा–इक्राहा हुँदै कमलपुरसम्मको सडक निर्माण योजना लागू गरिएको छ। १४ करोड लागतको यो योजना हाल ठेक्का प्रक्रियासमेत सम्पन्न भई निर्माण कार्य सञ्चालनको चरणमा प्रवेश गरेको छ।
यस्तै, वडा नम्बर ३ मा मटिगढा अमसोत नदीमा पुल निर्माणका लागि ९ करोडको लागतमा ठेक्का प्रक्रिया अघि बढाइएको छ। साथै, वडा नम्बर ६ स्थित श्री राष्ट्रिय मावि, रतवालाको स्तरोन्नतिका लागि ३५ लाखको बजेट विनियोजन भई निर्माण कार्यको तयारी भइरहेको छ।
मन्त्री लेखीले गाउँपालिकाका विभिन्न वडामा संचालनमा रहेका विकास योजनाहरूको स्थलगत अध्ययन गरेका छन्। स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू तथा नागरिकहरूसँग अन्तरक्रिया गर्दै उनले विकास निर्माणका कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
यस आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतका करिब दुई दर्जनभन्दा बढी योजनाहरू कार्यान्वयन हुने प्रदेश सरकारको वार्षिक स्वीकृत बजेटमा समावेश गरिएको छ। यी योजनाहरूको अनुगमन तथा समन्वयलाई निरन्तरता दिइने मन्त्री लेखीले जानकारी दिएका छन्।