एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ :
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वदेशमै उद्यमशीलता विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। नबिल बैंक र मोनाष्टिक विद्यालयको सहकार्यमा जनकपुरधाममा सामाजिक उद्यमशीलता प्रमाणपत्र तहको पठनपाठन उद्घाटन गर्दै उनले युवाहरूलाई स्वदेशमै आफ्नै संस्कृति र माटोमा काम गर्न प्रेरित गरे।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले निजी बैंकहरूले देशको समृद्धि र विकासमा लगानी गरिरहेको बताएका छन्। नेपाल राष्ट्र बैंक मधेश प्रदेशका निर्देशक डिल्लीराम सुवेदीले देशका विभिन्न क्षेत्रहरूमा उद्यमशील युवाको कमीले समस्या निम्त्याएको बताए।
यस कार्यक्रम अन्तर्गत २५ जना सहभागीसहित पहिलो कोहर्टको शुभारम्भ गरिएको हो। सहभागीहरू विभिन्न व्यवसायिक र कलात्मक क्षेत्रमा संलग्न छन्, र यस कार्यक्रमले उनीहरूलाई उद्यमशीलता सम्बन्धी ज्ञान र मार्गनिर्देशन प्रदान गर्ने लक्ष्य राखेको छ।
नबिल बैंकले ८६६ जनालाई प्रशिक्षण दिइसकेको छ र यस कार्यक्रमले ११७ वटा नयाँ उद्यम स्थापना गर्दै १,२०० भन्दा बढीलाई रोजगारी प्रदान गरेको छ।