एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
मधेशी आयोगका अध्यक्ष डा. विजय दत्तले आयोगले सिफारिस गरेका उजुरीमध्ये मात्र ३७ प्रतिशतलाई सरकारले सम्बोधन गरेको गुनासो गर्नुभएको छ।
बिहीबार मारवाडी सेवा समितिले जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दत्तले आयोगमा दर्ता भएका उजुरीमध्ये ९७ प्रतिशत सरकारसमक्ष सिफारिस गरिए पनि तीमध्ये थोरैमात्र कार्यान्वयन भएको जानकारी दिनुभयो।
उहाँले अन्य आयोगहरूको तुलनामा मधेशी आयोगको कार्यसम्पादन उत्कृष्ट रहेको दाबी गर्दै, हालसम्म आयोगले ११२ वटा बैठक र २३८ वटा निर्णय गरिसकेको उल्लेख गर्नुभयो। उहाँका अनुसार ती निर्णयमध्ये ९७ प्रतिशत कार्यान्वयन भइसकेका छन्।
तराई-मधेशका उद्योगी व्यवसायीहरूको समस्याको समाधानका लागि आयोग सरकारलाई दबाब दिन प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा मधेशको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रका विभिन्न समस्याहरूबारे छलफल गरिएको थियो। छलफलमा आयोगका सदस्य विजय प्रसाद गुप्ता, मारवाडी सेवा समितिका अध्यक्ष निर्मल चौधरी, जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जितेन्द्र महासेठ, नेतृ बिजेता झालगायत व्यापारी, बुद्धिजीवी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।