एसपी रिपोर्टर
जनकपुरधाम, माघ १७ :
तराई–मधेसमा बढ्दो चिसो र बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ। बाक्लो हुस्सुले यातायात सेवा अवरुद्ध बनाउँदा सडक र बजार सुनसान देखिएका छन्। भिजिबिलिटी अत्यन्तै कम (१०–१५ मिटर) भएकाले सवारी आवागमनमा कठिनाइ उत्पन्न भएको छ।
विशेष गरी, जनकपुरधाम विमानस्थलमा कम भिजिबिलिटीका कारण यात्रुहरू समस्यामा परेका छन्। भिजिबिलिटी न्यून रहेकाले न त विमानहरू सहज रूपमा अवतरण गर्न सकेका छन्, न त नियमित उडान सम्भव भएको छ। सामान्य अवस्थामा दैनिक ८ वटा उडान हुँदै आए पनि हाल ती संख्या घटेर ४ मा सीमित भएका छन्। उडान हुने निश्चित समय नहुँदा यात्रुहरू घण्टौँ विमानस्थलमा प्रतीक्षा गर्न बाध्य छन्।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ललित साहले विमानस्थलको स्तरोन्नतिमा ध्यान नदिइएको गुनासो गर्दै हुस्सु लागेको समयमा उडान तथा अवतरण सहज बनाउन प्रविधि जडानको माग गरे। हँसपुर नगरपालिकाका पूर्व नगरप्रमुख रामज्ञान मण्डलले जनकपुरधाम पर्यटकीय गन्तव्य बन्दै गएकाले विमानस्थलको स्तरोन्नति आवश्यक रहेको बताए।
जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवका अनुसार, विमान उडानका लागि कम्तीमा १,००० मिटर र अवतरणका लागि १,७०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर पछिल्लो एक सातादेखि बिहानको समयमा भिजिबिलिटी ५०० मिटर पनि नपुग्ने अवस्था छ। दिउँसो २ बजेपछि मात्र भिजिबिलिटी सुधार हुने भएकाले सोही समयमा उडान सञ्चालन गर्नुपरेको उनले जानकारी दिए। हाल दैनिक ४० प्रतिशत उडान कटौती गरिएको छ।
उनले आगामी दुई–तीन दिनमा मौसम सुधार हुने अनुमान गरिएको बताए। तर, कम भिजिबिलिटीमा पनि विमान उडान र अवतरण सहज बनाउन आधुनिक उपकरण आवश्यक रहेको छ। नेपालमा हाल यस्तो प्रविधि भैरहवा विमानस्थलमा मात्र उपलब्ध छ, जसको उच्च लागतका कारण अन्यत्र जडान गर्न कठिनाइ भइरहेको छ।