एसपी रिपोर्टर
जनकपुरधाम, माघ १२ :
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सीप बिना रोजगार सम्भव नरहेको स्पष्ट गर्नुभएको छ। वैदेशिक रोजगार बोर्डको आयोजनामा महोत्तरीमा आयोजित सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि देशमा मात्र सरकारले रोजगार दिने अवस्था नरहेको उल्लेख गर्दै रोजगारलाई सीपसंग जोड्न सकेमात्र रोजगारी समस्याको समाधान हुने बताउनुभयो।
मन्त्री भण्डारीले देशमा निर्माण, गहनाको कारीगरी र विकास निर्माणका सामग्रीहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको बताए। उहाँले आगामी महिनामा राष्ट्रिय स्वरोजगार श्रम तथा रोजगार सम्मेलन आयोजना गरी आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा मनाउने र देशभित्रका रोजगारीका अवसरहरूबारे छलफल गर्ने योजना रहेको जानकारी दिनुभयो।
उहाँले वैदेशिक रोजगारीको बाध्यता हटाउन आन्तरिक रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल कुमार रायले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि सीप र भाषाको तालिम कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले सीप र भाषाको ज्ञानबिना विदेश जानेहरूले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गरी तालिमको व्यवस्था गरिएको बताउनुभयो।
कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वैदेशिक रोजगार बोर्डका निर्देशक डा. द्वारिका उप्रेती, मधेश प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि, रोजगार संयोजक, सामी र रेमी कार्यक्रमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।