एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
जनकपुरधामस्थित गुठी संस्थानको जग्गा व्यवस्थापनका विषयमा शुक्रबार सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । “गुठी संस्थानको जग्गा व्यवस्थापन र स्थानीय सरकारको भूमिका” विषयक यस कार्यक्रममा गुठीका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, कानुनविद्हरू, तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी जग्गाको कानुनी जटिलताका कारण मठ–मन्दिर र गुठी जग्गाको व्यवस्थापन तथा संरक्षणमा समस्या हुँदै आएको बताए । उनले स्थानीय तहमा विकासका लागि आवश्यक गुठी जमिन सहज रूपमा उपलब्ध नहुँदा समस्या थपिएको उल्लेख गरे। मेयर साहले गुठीका जमिनबाट राजस्व उठाउने अधिकार स्थानीय तहलाई दिनुपर्ने र यसका लागि विद्यमान कानुन संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।
गुठी संस्थान जनकपुरधाम कार्यालयका प्रमुख आनन्द कर्माचार्यले गुठी जग्गाको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताए। उनले गुठी जग्गा अतिक्रमण रोक्न पनि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा सहभागी कानुनविद्हरूले २०३३ सालको गुठी ऐनलाई संशोधन गर्दै समयानुकूल कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । साथै, गुठी जग्गामा बनेका संरचनाबाट स्थानीय तहले कर उठाउन सक्ने व्यवस्था गर्नुपर्ने सुझावसमेत दिए ।
कार्यक्रममा मालपोत कार्यालय प्रमुख रमेश पौडेल, स्थानीय जनप्रतिनिधि, कानुनविद्हरू, र पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले गुठी व्यवस्थापनलाई सुधार्न नयाँ कानुनको आवश्यकता औंल्याए ।