एसपी रिपोर्टर
जनकपुरधाम, माघ ११ :
मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन्। यस अभियानको सुरुआत माघ १४ गते सोमबारदेखि हुने छ। मिटरव्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो।
किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले अभियानको सुरुआत जनकपुरधामबाट हुने बताए। उनले मिटरव्याजको समस्यालाई सम्बोधन गर्न आन्दोलनलाई अझ तीव्र बनाउने र आवश्यक परे अदालतविरुद्ध पनि संघर्षको रणनीति अपनाइने चेतावनी दिए। कुशवाहाका अनुसार, मिटरव्याजसम्बन्धी कानून बने पनि कार्यान्वयनमा ढिलाइ भएको छ। मिटरव्याज पीडितहरूले दिएको ६० हजार निवेदनमध्ये १० प्रतिशत मुद्दा पनि हालसम्म समाधान नभएको भन्दै उनले सरकारप्रति गम्भीर असन्तोष व्यक्त गरे।
कुशवाहाले राज्यले मिटरव्याज पीडितहरूको मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाउँदै, यो स्थिति जारी रहे आन्दोलनको स्वरूप परिवर्तन गरिने चेतावनी दिए।
अभियानको मुख्य उद्देश्य उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको लागि संघर्षमा उतार्नु रहेको छ। अभियानले मिटरव्याजी साहु, वित्तीय र भू–माफियाहरू तथा तिनका संरक्षकविरुद्ध जनचेतना फैलाउँदै संघर्षको वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ।
मिटरव्याज पीडितहरूको जनजागरण अभियानको कार्यक्रम माघ १४ गते जनकपुरधाममा हुने वृहत घोषणा सभामा सार्वजनिक गरिनेछ।