एसपी रिपोर्टर
जनकपुरधाम, माघ १० : जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले स्वयम महात्मा गान्धी भन्दा पनि पहिला गजेन्द्र बाबुकै बारेमा सुन्ने र बुझने अवसर पाएको स्मरण गरेका छन् । गजेन्द्र नारायण सिंह अध्यन्न केन्द्रको आयोजनामा भएको गजेन्द्र बाबुको २४ औं पुण्यतिथिमा आयोजित ‘गजेन्द्र बाबुके चिन्तन और मधेशकी भावी कार्यदिशा’ विषयक विचार विर्मश कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकै छेउमा बसेका उनले भने, ‘मै महात्मा गान्धी भन्दा पहिला गजेन्द्र बाबुको बारेमा सुने र बुझे ।’
मधेशका कारणले पनि हुन सक्छ, र उहाँले उठाएको संघियता र मधेशवादका कारणले पनि आफुले महात्ममा गान्धी भन्दा पहिला र गजेन्द्र बाबुकै बारेमा अध्यन्न गरेको उनको तर्क थियो । उनले स्वयम विभिन्न प्रयोजनका दौरान तराई मधेशको पुर्व देखि पश्चिम सम्मको जिल्लामा गरेको भ्रमणका क्रममा सबै भन्दा चर्चित र वास्तविक मधेशवादी नेताका रुपमा गजेन्द्र बाबुलाई सुनेको र धेरै अनुयायी भेटेको स्मरण गरे ।

सोहि कार्यक्रममा जनमत पार्टीका प्रवक्ता डा. सरद सिंह यादवले गजेन्द्र बाबु जस्तो अभिभावक मधेशले पाउन नसकेको बताए । नेता त धेरै पायो मधेशले तर नेता नेतामै सिमित रहनुभयो, गजेन्द्र बाबु जस्तो अभिभावक बन्न सक्नु भएन, उनले थपे । मधेशी नेताहरुमा अभिभावक भन्दा पनि नेता बन्ने होडवाजी मात्र चलेकाले पनि एकता र सदभाव असम्भव देखिएको उनको तर्क थियो । विशेष सहभागिता र विशेष सन्दर्भ सहितको कार्यक्रमका आयोजक केन्द्रका अध्यक्ष अनिल कुमार महासेठले आफुले यस्तो सहभागिता सम्भव हुने सम्भावना कम देखेपनि नेतृत्वहरुले देखाएको सदभावका लागि धन्यवाद दिदै छलफलमा उठेका विषयले निरन्तरता पाए आजको कार्यक्रम सार्थक हुने बताए ।