एसपी रिपोर्टर
जनकपुरधाम, माघ ८ :
नव मिथिला फाउण्डेशनले माघ २४ गतेदेखि आयोजना गर्न लागेको छैटौं जनकपुर साहित्य महोत्सवको तयारी तीव्र पारेको छ ।
महोत्सवको महत्वपूर्ण अंशको रूपमा विद्यालयस्तरीय कविता प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कथा वाचन प्रतियोगिता र अन्तरविद्यालय चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो ।
सोहीक्रममा मंगलबार आयोजित विद्यालयस्तरीय कविताबाट उत्कृष्ट १० तथा कथा वाचन प्रतियोगिताको अडिशन राउण्डमा सहभागीहरु मध्ये उत्कृष्ट १० छनौट भएका छन् ।
विद्यालयस्तरीय कविता प्रतियोगिता अन्तर्गत छनौट भएकाहरुमा मिट इङ्गलिश बोर्डिङ्ग स्कूलकी अस्मिता रानी ठाकुर, साउथ प्वान्ट इङ्गलिश बोर्डिङ्ग स्कूलका प्रभाकर झा, अन्नपूर्ण सेकेण्ड्री बोर्डिङ्ग स्कूलकी अतिथि प्रिया, श्री यज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपका सुमित झा, एर्रे इन्टरनेशनल बोर्डिङ्ग स्कूलकी नेहा सिंह र ज्ञानदा इन्टरनेशनल स्कूलकी महिका साह रहेका छन् ।
त्यस्तै, कथा वाचन प्रतियोगिता अन्तर्गत न्यू आइडियल सेकेण्ड्री स्कूलकी भुमिका साह, गोदावरी सेकेण्ड्री इङ्गलिश बोर्डिङ्ग स्कूलका ओम लाभ, श्री यज्ञवल्क्य संस्कृत मावि ज्ञानकुपकी साक्षी झा, अन्नपूर्ण सेकेण्ड्री बोर्डिङ्ग स्कूलका अन्जन कुमार र डेफोडिल्स पब्लिक स्कूलकी प्रिती पाण्डे छनौट भएका छन् ।
फाउण्डेशनले गर्न लागेको अन्तरविद्यालय प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् । जहाँ प्रथम हुनेले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ५ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।