एसपी रिपोर्टर
जनकपुरधाम, माघ ५ :
मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेसलाई अधिकारसम्पन्न बनाउन अझै संघर्षको आवश्यक्ता रहेको बताएका छन् । मधेसको गृह संचार तथा कानून मन्त्रालय अन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुकले संघियता पाएको र बाँकी अधिकार प्राप्तिकालागि अझै संघर्षको आवश्यक्ता रहेको बताए । चरणबद्ध रुपमा अधिकार प्राप्तिकालागि संघर्षको आवश्यक्ता छ, उनले भने ‘अहिले अझै कयौँ अधिकार प्राप्त गर्न बाँकी छ, प्राप्त उपलब्धीलाई संस्थागत गर्दै चरणबद्ध रुपमा बाँकी अधिकारका लागि संघर्ष गर्नु आजको आवश्यक्ता रहेको छ ।’
मुख्यमन्त्री सिंहले मधेस आन्दोलनको बलमा मुलुक संघियतामा प्रवेश गरेपछि प्रदेश सरकार पाएपनि आफ्नो प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भईरहेको बताए । उनले भने ‘प्रदेश सरकारमा मुख्यमन्त्री मन्त्रीहरु बनाइएको छ तर हात मुख गोडालाई बाँधेर राखिएको छ ।’
एक अर्को प्रसंगमा मुख्यमन्त्री सिंहले शहीदहरुको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले शहीद परिवारका लागि रोजगारीको सिर्जन ागर्न कानूनै बनाएर अगाडी बढ्न सरकार पछाडी नहट्ने बताए ।
गृह संचार तथा कानून मन्त्री राजकुमार लेखीको अध्यक्षतामा भएको सो कार्यक्रममा शहीद परिवारका सदस्य तथा जिउँदो शहीदहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।