एसपी रिपोर्टर
जनकपुरधाम, माघ ४ :
मधेश प्रदेशका सांसद्लगायत सरोकारबालाहरूले मधेश आन्दोलनका शहीद परिवारहरूले उचित सम्मान तथा सेवा पाउन नसकेको बताएका छन् । जनकपुरधाममा शुक्रबार ७ औँ बलिदानी दिवसको पूर्वसन्ध्यामा मधेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयले गरेको अन्तर्क्रियामा सहभागी प्रदेश सांसद्लगायत अन्य सहभागीहरूले यस्तो धारणा राखेका हुन् । शहीद परिवारले राज्यबाट उचित सम्मान पाउन नसकेको भन्दै उनीहरूले हाल दिइँदै आएको सेवा सुविधालाई पनि थप व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरूले शहीद परिवारका सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्दै निशुल्क शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउनुपर्ने बताएका छन् ।
सयौँ मधेशी युवाको शहादतको जगमा देश संघीय संरचनामा गए पनि राज्यले उनीहरूको परिवारको अवस्थाप्रति बेखबर रहँदै आएको पनि उनीहरूको आरोप छ । शहीद परिवारले भोग्दै आएको समस्या समाधान गर्ने उद्देश्यले ठोस नीति नै बनाएर मधेश सरकार अघि बढ्नुपर्ने पनि उनीहरूले सुझाव दिएका थिए । सहभागीहरूले प्रदेश सरकारले गठन गरेको शहीद प्रतिष्ठानलाई थप अधिकार दिनुपर्नेसमेत सुझाव दिएका थिए ।
त्यस्तै, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले बलिदानी दिवसको सन्दर्भ पारेर पहिलो पटक अन्तर्क्रिया गरेको भन्दै यसबाट आउने सल्लाह सुझावबाट आगामी दिन शहीद परिवारका लागि कार्यक्रम तथा योजना बनाउन मधेश सरकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सांसद् रामअशिष यादव, कुमरकान्त झा, कञ्चन बिच्छा, राजेन्द्र चौधरी, रुपा यादव, बच्चा यादव अहिर, जिवछी यादव, शारदा थापा, नीति तथा योजना आयोगकी सदस्य डाक्टर शिला मिश्र, मुख्यन्यायाधिवक्ता सुरेन्द्र महतोलगायत सहभागी भएका थिए ।