सोनु साह
जनकपुरधाम, माघ ३ : अहिले धनुषाको हँसपुर नगरपालिकाको टिल्ही स्थित प्रसिद्व साधुको नाममा स्थापित श्री तवसी बाबा माध्यमिक विद्यालय चर्चामा रहेको छ । आफना शिक्षकहरुबाट माध्यमिक तृतीय श्रेणी सामाजिक विषयका शिक्षक मदन कुमार महरा –दलित) लाई प्रधानाध्यापक नियुक्त गरिएपछि विद्यालय र व्यवस्थापन समितिको पनि प्रशंसा भइरहेको छ ।
महरालाई हंसपुर नगरपालिकाले पुष ३ गते नै वडा नम्बर–६ टिल्हीस्थित तपसी बाबा माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी तोकेको हो । सो विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ को नियम ९३ को उपनियम १२ बमोजिम शिक्षक कर्मचारीहरुको गत मंसिर २५ गते तथा विद्यालय व्यवस्थापन समितिको पुष २ गतेको बैठकको निर्णयानुसार कार्यरत शिक्षकहरु मध्ये महरा बरिष्ठतम स्थायी शिक्षक भएकोले उनलाई निमित्त प्रधानाध्यापकको रुपमा कार्य गर्न जिम्मेवारी तोकिएको हंसपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीले बताए ।
विद्यालयका संस्थापक एवम् समाजसेवी गंगाराम यादव, वडाध्यक्ष सुरेन्द्र कुमार मण्डल लगायत समाजका भद्रभलादमीहरुको रोहबरमा महरालाई माला लगाई प्रधानाध्यापकको जिम्मेवारी तोकिदा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमो मुख्य सिद्वान्त समावेशितालाई समाजले अंगिकार गरिरहेको स्पष्ट उदाहरण देखिन्थ्यो । खास गरि मधेशमा अहिले प्र.अ.बन्न त्यती सजिलो हुदैन, त्यसका लागि पावर, पैसा सबै लगाउनुपर्ने हुन्छ ।

पुर्व मुख्यमन्त्री राउतको चासो र अनुगमन
सो खवर पश्चात मधेश प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउतले विद्यालयको स्थलगत निरिक्षण अवलोकन गरेका छन् । पुष २४ गते पुर्वमुख्यमन्त्री राउत सहितको टोली विद्यालयको भ्रमण गरेका थिए । राउतले मधेश प्रदेशको वर्तमान अवस्था र यसको बिकल्प साथै आफ्नो कार्यकालमा गर्ने गरेका मुख्य योजना बेटी पढाउ बेटी बचाउ, छोरी बीमा , मेघावी छात्राहरुलाई ल्यापटप दिने योजना, लोक सेवा तयारि कक्षा संचालन, महिलाहरुको लागि ५०% आरक्षण सहितको नीति कानुननै बनाई मधेश प्रदेशलाई सबै भन्दा बढी नीति नियम र कानुन बनाउने प्रदेशको रुपमा चिनाएको बताउदै प्रदेशमा दलित सशक्तिकरण ऐन र दलित विकास समितिको बारेमा समेत चर्चा गरे ।

गंगाराम यादव जस्ता समाजसेवीले समाज र विद्यालय प्रति गरेको योगदानलाई खुलेरै प्रशंसा गरेका उनले विद्यालयमा उन्नति र प्रगतिमा आफ्नो सहयोग रहने प्रतिवद्वता जाहेर गरेका छन् । राउतले टिल्ही तपसीबाबाको नगरी र गंगाराम यादवको गाउँ भएको उहाँहरुकै योगदानले समाज प्रगतिपथमा रहेको बताउदै थप विकासका लागि आफुहरुको पहल रहने बताए । स्थानिय शिक्षा प्रेमी श्याम यादवले विद्यालयको इतिहास र समाजसेवी गंगाराम यादवको विद्यालय र गाउँप्रति रहेको योगदानको चर्चा गर्दै यादवलाई भगवान श्री कृष्णको रुप भन्दै उहाँकै योगदानमा यहाँ देशका राष्ट्रपति, प्रधानमन्त्री जस्ता ठुल–ठुला राजनीतिक व्यक्तित्वहरुको आगमन भएको र तपसी बाबाको आशिर्वादले आफ्नो कर्मक्षेत्रमा साकारात्मक परिवर्तन पनि ल्याएको चर्चा गरेका थिए ।
साथै पुर्वमुख्यमन्त्री राउत समाजसेवी यादव आफ्नो बाल्यकाल बिताएका तपसिबाबा मन्दिर क्षेत्र, छेउमै रहेको उहाँले जग्गा दानगरी बनाएका मोक्षद्वार शमसान घाट समेत अवलोकन गरेका थिए । सो क्रममा स्थानीय बुद्धिजीवी ,वडा प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक लगायत सुरक्षाकर्मीहरुको उपस्थितिमा प्रधानाध्यापक मदन कुमार महरा लगायत शिक्षक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमीहरुको पनि सहभागिता थियो ।