एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ :
मधेस सरकार भित्र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयबीच जुंगाको लडाई शुरु भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा अहिले निमित्त निर्देशक थिए डा. कुमार मृत्युञ्ज प्रसाद । मुख्यमन्त्री कार्यालयले आइतबार एक पत्र लेख्दै डा. प्रणवकुमार यादवलाई निर्देशकको पद सम्हाल्न भनेको थियो । मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत मिथिलेशकुमार महतोद्वारा हस्ताक्षरित पत्रमा डा. यादवलाई तत्काल व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित प्रादेशिक प्रयोगशालाको निमित्त निर्देशकको पद सम्हाल्न भनिएको छ ।
त्यसको एक दिन नबित्दै मधेसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्यमन्त्री कार्यालयको निर्णयलाई काउण्टर गर्दै उनलाई हाजिर नगराई सम्बन्धित कार्यालयमा पठाउन सोमबार पत्र जारी गरेको हो ।
मन्त्रालयको निमित्त सचिव राजेशकुमार कर्णको हस्ताक्षर सहित जारी गरिएको पत्रमा प्रयोगशालामा निर्देशक पठाउने अधिकार मन्त्रीपरिषद स्तरीय निर्णयबाट हुनुपर्नेमा त्यस्तो नभएको र डा. प्रणवकुमार यादवको सेवा समूह र पदको दरबन्दी खाली नरहेकाले निजलाई हाजिर नगराई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन भनिएको छ ।
डा. प्रणवकुमार यादव १०औँ तहका कर्मचारी हुन् भने डा. कुमार मृत्युञ्जयप्रसाद ९औँ तहका कर्मचारी हुन् ।
डा. प्रणवकुमार यादव हाजिर समेत भई सकेका छन् । उनलाई हाजिर हुन कार्यालयमा अर्को रजिष्टर खडा गर्नु परेको थियो । उनी कार्यालयमा हाजिर भएप्छि निमित्त निर्देशक रहेका डा. मृत्युञ्जय प्रसाद पक्षधर कर्मचारीहरु स्वास्थ्य मन्त्रालय पुगेर मुख्यमन्त्री कार्यालयको पत्रलाई काउण्टर दिने गरी अर्को पत्र लेखाउन लगाएको प्रयोगशालाकै कर्मचारीहरुको आरोप छ ।
मुख्यमन्त्री कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक प्रकृतिको पत्र जारी गरेपछि प्रदेश सरकार नै प्रयोगशालालाई तहसनहस पार्न खोजिरहेको आरोप कर्मचारीहरुले लगाए ।
यस अघि डा. श्रवणकुमार मिश्र निर्देशक हुँदा समेत प्रदेश सरकारकै हस्तक्षेप हुँदा ११औँ तहको सिनियर कर्मचारी हुँदाहुँदै पनि उनलाई यहाँबाट जानु परेको थियो । उनको स्थानमा ९औँ तहका जुनियर कर्मचारी डा. कुमार मृत्युञ्जय प्रसादलाई निमित्त निर्देशक बनाएर पठाएको थियो । उनलाई हाजिर गराउन मुख्यमन्त्री तथा मन्त्रीहरु स्वयं प्रादेशिक प्रयोगशाला पुगेर घण्टौँ धर्ना दिए जस्तै बसेका थिए ।