सोनु साह
जनकपुरधाम, पुष २७ : शहिद पत्रकार उमा सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले एक राष्ट्रिय पत्रकारिता सम्मान र अर्को पत्रकारिता पुरस्कारको थालनी गरेको छ । नवनिर्वाचित पुरन साह नेतृत्वको धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको स्मृति दिवस पुष २७ को अवसरमा हरेक वर्ष एक राष्ट्रिय व्यक्तित्वलाई प्रदान गर्ने ‘उमा सिंह स्मृति राष्ट्रिय पत्रकारिता सम्मान’ र महाविर युवा कमिटिको कार्यसमितिले घोषणा गरेको ‘उमा सिंह पत्रकारिता पुरस्कार’ को विधिवत थालनी गरेको छ ।
यस वर्षको ‘उमा सिंह स्मृति राष्ट्रिय पत्रकारिता सम्मान’ नेपाल पत्रकार महासंघमा नवनिर्वाचित एतिहाँसिक पहिलो महिला राष्ट्रिय अध्यक्ष निर्मला शर्मा र महासंघको एतिहाँसिक पहिलो मधेशी (भुगोल) तर्फको अध्यक्ष पुर्व अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ भने ‘उमा सिंह पत्रकारिता पुरस्कार २०८१’ बाट उमा सिंहको हत्या हुँदा न्यायका लागि कुशल नेतृत्वका साथ आन्दोलन गरेका धनुषा अध्यक्ष उमेश साहलाई प्रदान गरिएको छ । सो पुरस्कारको सौजन्य महाविर युवा कमिटिले गरेको छ ।
राष्ट्रिय सम्मान पाएका पुर्व अध्यक्ष झा पनि उमा सिंहको हत्या वखतको अध्यक्ष रहेको र न्यायका लागि अन्तराष्ट्रिय स्तरको आन्दोलन चलाएको नेतृत्व हुन भने वर्तमान अध्यक्ष शर्मालाई उमा रुपी र महिलाहरुको गौरव भन्दै सम्मान गरिएको शाखा अध्यक्ष साहले बताए । सम्मान र पुरस्कार प्राप्त गर्ने महासंघका तिनजनै अध्यक्ष र पुर्वअध्यक्षहरुले धनुषा शाखाले गरेको सुरुवात सुःखद र उमा सिंह प्रतिको वास्तिवक सम्मान तथा श्रद्धाञ्जली रहेको धारणा राखेका थिए ।
शाखा अध्यक्ष साहले उमा सिंहको नाउँमा राष्ट्रिय सम्मान आरम्भले धनुषा शाखाको गरिमा बढने र उमा सिंहको शाहासिक कर्मको चर्चा राष्ट्रिय स्तरमा निरन्तर भइरहने बताए । सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्यहरु, मधेशका पदाधिकारीहरु, धनुषा शाखाका पुर्व अध्यक्षहरु, आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलका अध्यक्षद्वय सहित धनुषा र मधेशका अन्य जिल्लाका पनि रासस प्रतिनिधीहरुको बाक्लो उपस्थिती थियो ।