एसपी रिपोर्टर
जनकपुरधाम, पुष २६ :
मधेसका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले संघियतामाथी प्रश्न उठ्यो भने सिंगो संविधानमाथी नै प्रश्न उठ्ने बताएका छन् ।
जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखीले जुन दिन प्रदेश संरचना खारेज हुन्छ, जुन दिन संघियता खारेज हुन्छ त्यो दिन संविधान पनि खारेज हुने बताएका छन् । उनले भने ‘अहिले एउटा जमात तीन तहको संरचना बोझिलो भयो, बिकृति बढ्यो भनिरहेका छन्, उनीहरुले संघियतामाथी प्रश्न उठ्दा संविधानमाथी नै प्रश्न उठ्छ बुझेका छैनन् ।’
मुलुकमा संघियता आएपछि मधेसले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान पायो, कृषि विश्व विद्यालय पायो, मधेस विश्व विद्यालय पायो के यो उपलब्धी होइन भन्दै प्रतिप्रश्न गरे । भारतले संविधान पाएको ७५ वर्ष भईसकेको छ, यो ७५ वर्षको अवधिमा बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल लगायतका राज्यको सानो सानो बजारमा जुन स्तरको विकास भएको छ त्यो स्तरको विकास संघियता आएपछि मधेसमा भएको मन्त्री लेखीले दावी गरे ।