एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको सम्पूर्ण रकम प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिनुभएको छ । जनकपुरधाममा बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ विद्यार्थीहरूका लागि सुरु गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा मुख्यमन्त्री सिंहले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले मधेशबाहिरका विश्विद्यालयहरूलाई छात्रवृत्तिवापत् युनिभर्सिटी ग्रान्ट कमिशन (यूजीसी) ले अनुदान दिने गरेको भए पनि मधेश प्रदेशलाई यस्तो सुविधा नदिइएको गुनासो गर्नुभयो । यो प्रतिष्ठानले एमबीबीएसमा भर्ना भएका ५० जनामध्ये छात्रवृत्ति पाउने ३८ जनाको सम्पूर्ण छात्रवृत्ति रकम मधेश सरकारले ब्यहोर्ने पनि जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानमा देशका विभिन्न ठाउँबाट अध्ययन गर्न आएका विद्यार्थीलाई स्वागत गर्दै अध्ययन पश्चात् उनीहरू स्वास्थ्य सेवामा प्रतिबद्ध भएर लाग्ने विश्वास गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यमन्त्री शत्रुधनप्रसाद सिंहले स्वस्थ मधेश प्रदेश निर्माण गर्ने लक्ष्यका साथ प्रदेश सरकार अहोरात्र खटिरहेको बताउनुभयो । अस्थिर सरकारका कारण अपेक्षाकृत काम गर्न नसकेको पनि उहाँले स्वीकार गर्नुभयो । त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले प्रतिष्ठानले एमबीबीएस अध्ययन अध्यापन सुरु गरेकोमा खुशी व्यक्त गर्दै यसले मधेशको स्वास्थ्य क्षेत्रको विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मधेश र कर्णाली दुवै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पछाडि परेको र पारिएको भन्दै यी दुई प्रदेशलाई अगाडि बढाउन सकिए मात्र वास्तवमा नेपालको विकास भएको मान्न सकिने बताउनुभयो । कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. अंकुर साहले मधेश स्वास्थ्य सेवाको विकास र विस्तारका लागि प्रतिष्ठान गठन हुनु संघीयताकै उपलब्धि भएको बताउनुभयो ।
उहाँले यो संस्थाको जन्म दिने तत्कालीन प्रदेश सरकार र मधेश प्रदेशसभा सांसद्हरूप्रति आभार पनि व्यक्त गर्नुभयो । साथै, प्रतिष्ठानलाई मूर्त रूप दिने प्रथम उपकुलपति स्वर्गीय प्रा.डा. रामकेवल साहको योगदानलाई पनि स्मरण गर्नुभएको थियो । त्यसैगरी, प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. बिनोदकुमार यादवले स्थापनादेखि हालसम्मका उपलब्धिहरूको विषयमा जानकारी दिनुभयो । उहाँले प्रतिष्ठानले गरेको उपलब्धिमा मधेश सरकारको विशेष सहयोग रहेको भन्दै यो सहयोग निरन्तर रहिरहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले प्रविणता प्रमाण तहबाट छोटो अवधिमा नै स्नातकोत्तर तहसम्मको अध्ययन अध्यापन गर्न प्रतिष्ठान समक्ष हुनु मधेशकै लागि ठूलो उपलब्धि भएको बताउनुभयो । प्रतिष्ठानले बिहीबारबाट सुरु गरेको सात दिने अभिमुखीकरणका क्रममा पहिलो वर्षमा अध्ययनका लागि भर्ना भएका छात्रछात्रालाई विषय तथा पाठ्यक्रमहरूबारे जानकारी दिइनेछ ।
साथै, मेडिकल शिक्षाका नैतिक मूल्य र मान्यता, मापदण्ड, स्वास्थ्यकर्मीले लगाउने सेतो कोर्टको महत्वलगायत विषयमा पनि विद्यार्थीहरूलाई अभिमुखीकरण गरिनेछ । त्यस्तै, विद्यार्थीहरूलाई गाउँघरका स्वास्थ्य संस्थादेखि ठूला अस्पतालहरूको पनि भ्रमण गराउने उद्देश्य लिइएको छ । कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानीशर्मा तिवारी, जिल्ला समन्वय समितिका सभापति राजनन्दन मण्डलका साथै प्रतिष्ठानका प्राध्यापक, प्रदेशका विभिन्न अस्पतालका मेसु, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीलगायत सहभागी भएका थिए ।
प्रतिष्ठानले यस वर्षबाट एमबीबीएसको अध्ययन अध्यापन सुरु गरेको छ । प्रतिष्ठानले यसअघि बीएस्सी नर्सिङ, बीएनएस, बीपीएच, बीएस्सी ल्याब, बीएलएमका साथै एमडीको अध्ययन अध्यापन गराउँदै आएको छ ।