एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ :
मधेस प्रदेशको प्रदेशसभाको बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालले माग गरेको छ । जसपा नेपाल मधेसको संसदीय दलको बैठकबाट प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसक्दा विकास निर्माण लगायतका काम प्रभावित हुँदै आईरहेकाले अविलम्ब बैठक आह्वान गर्न माग गरेको हो ।
संसदीय दलको बैठकबाट लामो समयदेखि सदनको बैठक बस्न नसकेकाले बैठक आह्वान गर्ने वातावरण निर्माण गर्नकालागि प्रदेश सरकार तथा सरकारमा सहभागी राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको जसपा नेपालका प्रदेशसभा सदस्य एवं मधेसका पूर्व मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।
यसका साथै आर्थिक वर्ष २०८१/०८२को बजेटमा समावेश विकासे योजनाहरु हालसम्म संचालनमा नआउँदा प्रदेशवासीका साथै जनप्रतिनिधिहरु मारमा परेकाले विनियोजन बजेट संचालनमा ल्याउन समेत माग गरिएको राउतले बताए । उनले बजेट संचालनमा ल्याउनका लागि समेत प्रदेश सरकारमाथी दवाब बनाइने बताए ।
जसपा नेपाल संसदीय दलको बैठकबाट प्रदेशसभा सदस्य साहिदा खातुनमाथी भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिएर कडा कारबाही गर्न माग गरिएको छ ।