एसपी रिपोर्टर
जनकपुरधाम, पुष १४ : नेपाली कांग्रेसका नेता तथा सभापतिका दावेदार डा. शेखर कोइरालाले महामन्त्री गगन थापा आफूहरूसँग नै रहनु भएको दाबी गर्दै अगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार आफुनै रहेको बताएका छन् । अगामि सभापती पदमा उम्मेदवारीका विषयमा महामन्त्री गगन थापा जीले हामीसंग कुनै कुराकानी गर्नु भएको छैन, वहाँ हामि संगै हुनुहुन्छ उनले थपे ।
यद्यपि जनकपुरधाममा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोेल्दै उनले पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था भने रहेको स्पष्ट पारेका छन् । डा. कोइरालाले मुलुकमा राजनीतिक स्थिरता र सुशासन लागि दुई ठूला दलको नेतृत्वमा सरकार बनेको बताएका छन् ।
मुलुकलाई अप्ठ्यारो परिस्थितिबाट पार लगाउन काँग्रेस र एमालेको सहकार्य भएको बताउदै उनले वर्तमान गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए ।
२०८४ को निर्वाचनमा काँग्रेस एक्लैले चुनाव लडेर जित्न सक्ने अवस्था भएपनि अहिलेको अवस्थामा गठबन्धन आवश्यक भएको र संविधान संशोधनको काम गर्दा नेकपा माओवादी केन्द्र, रास्वपा तथा मधेसवादी दलहरूसँग सहकार्य गर्नुपर्नेमा उनको जोड थियो । पछिल्लो समय संविधान संशोधन सहितका मुलुकका विभिन्न समस्याहरूको समाधानका लागि काँग्रेस एमालेका बीचमा गहन संवाद शुरु भएको बताउँदै उनले काँग्रेस संविधान संशोधनको पक्षमा रहेको स्पष्ट पारेका छन् ।