पुरन रौनियार
जनकपुरधाम, पुष १३ : मिथिलामा हुने वैवाहिक केहि पोशाक लगाएका वहाँहरु हुनुहुन्छ नेपालका लागि बेलायती राजदुत रब फेन र उनकी धर्मपत्नी जुलिया फेन । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फुलको बरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन त्रेतायुगमा भगवान रामजानकीले यसै पावन धर्तीमा व्यहा रचाएकाले आफु वैवाहिक वर्षगाँठ मनाउन आएको र अत्यन्तै हर्षित भएको बताएका छन् ।
फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो साडी र चुनरी (शल) पहिरेकी छन् । बेहुला र बेहुलीको लगनगाँठो बेरिएको छ र नव दुल्हादुल्हीन झै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गरेका छन् । फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाएका छन् ।
उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेशको परम्परागत भेष, सुमधुर भाषा, यहाँको संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्टमध्ये लागेको र जनकपुरधाममा आफ्नो २२औं वैवाहिक वर्षगाँठको शिलशिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा मलाई गौरवान्वित महसुस भएको बताउछन् । गत वर्ष कार्य विशेषले जनकपुरधाम लगायत मधेशका विभिन्न चर्चित ठाउँहरु घुम्न पाएको र त्यही बेला नै यो वैवाहिक वर्षगाँठ जनकपुर नगरमा मनाउने निधो गरेँ फेनले बताए ।
मेरी श्रीमती जुलिया फेनले पनि अत्यन्त उत्सुकताका साथ मेरो योजनामा सहमती जनाइन् । केही साता अगाडि मात्र रामजानकी विवाह पञ्चमीको अवसरमा एकैछिन भएपनि जानकी मन्दिरमा माता जानकीको आशिर्वाद लिएको थिए उनले थपे । उनीहरुको वर्षगाँठमा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेश सरकारकी मन्त्री रानी शर्मा तिवारी र जनकपुरधामका मेयर मनोज कुमार साह पनि सहभागि भए । उनीहरुले पनि जनकपुरधाममा गरेको विवाह उत्कृष्ट र सफल हुने प्रचार प्रसार सहित जनकपुरधामलाई म्यारेज डेस्टिनेशनका रुपमा विकास गर्न राजदुत दम्पतीले देखाएको सदासयता उत्तम रहेको बताए ।
दम्पतीले भनेका छन्, ‘मेरा मित्र प्रदेशका मा. मुख्यमन्त्रीज्यू, मा. सभामुखज्यू, मा. प्रदेश सभा सदस्यज्यूहरु, जनकपुरधामका मेयर तथा नागरिक समाजका अगुवा साथीहरुले पनि मिथिलाको परम्परा र यसको महत्व सँगसँगै संघ, प्रदेश र स्थानीय सरकारले जनकपुरलाई वैवाहिक गन्तव्यको रुपमा विकास गर्ने योजना बनाएको बताएका थिए । उहाँहरुको निम्तो, माया, प्रेम र प्रदेशवासीको मायाले वैवाहिक वर्षगाँठ यहाँ मनाउन उत्प्रेरित गरेकोमा म सबैप्रति आभारी छु ।’
धन्यवाद नोटमा उनले अगाडि भनेका छन, ‘यस अवसरमा जानकी मन्दिरमा आशिर्वाद ग्रहण, धनुषाधाम मन्दिर दर्शन, धनुषाधाम वनमा वृक्षारोपण तथा पवित्र गंगा आरतीमा सहभागी हुन्छौं। साथै, मेरा व्यक्तिगत पहल तथा बेलायती राजदुतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा सञ्चालित विभिन्न कार्यक्रम मार्फत निकट भविष्यमा जनकपुरधाम र मधेश प्रदेशले समग्र विकासमा ठूलो फड्को मार्ने विश्वास पनि लिएको छु ।’