एसपी रिपोर्टर
जनकपुरधाम, पुष ९ :
धनुषा र महोत्तरी क्षेत्रमा पर्ने दूधमति नदीको संरक्षण, जिर्णोद्धार र सौन्दर्यकरणका लागि आगामी आइतवारदेखि नक्साकन तथा रेखाकंनको काम शुरु हुने भएको छ ।
मधेश प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा रहेको दूधमति संरक्षण तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत दुधमति नदी संरक्षण उच्चस्तरीय उपसमितिको मंगलवार बसेको बैठकबाट नदी क्षेत्रको जग्ग छुटाउन नक्साकन तथा रेखांकन गर्ने निर्णय गरिएको हो ।
उपसमितिका अध्यक्ष उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवको अध्यक्षतामा बसेको उपसमितिको बैठकबाट दूधमति नदीको नक्सांकन तथा रेखांकन सहित विभिन्न ६ बुँदे निर्णय गरिएको छ ।
मंसिर १४ गतेदेखि शूरु हुने नक्सांकन अर्थात नदी क्षेत्र नापजाँचको कामको अवधि ३ महिना दिइएको छ । दूधमति नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ अरजनवादेखि महोत्तरीको मटिहानी सीमावर्ती क्षेत्रसम्म गरिनेछ ।
दूधमति नदीको संरक्षण र सौन्दर्यकरण प्रदेश सरकारको गौरवको आयोजना रहेकाले आयोजना सम्पन्नपछि सो क्षेत्रमा पर्यटकीय र आर्थिक सहित कृषि क्षेत्रको समेत विकास हुने उपसमितिका अध्यक्ष मन्त्री यादवले बताए ।
यी बाहेक उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयद्वारा विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पारिने, बजेटको व्यवस्थापन सम्बन्धित मन्त्रालयले गर्ने, डिपीआरपछि टेण्डर प्रक्रिया अघि बढाइने, चालू आर्थिक वर्षमा छुटयाइएको रकमबाट तत्काल कार्य अघि बढाइने र प्रचार प्रसार समिति गठन गर्ने सहितका निर्णय समेत गरिएको छ ।
सो बैठकमा उपसमितिका पदाधिकरी, धनुषा र महोत्तरी जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी तथा मालपोत कार्यालयका प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि, प्रहरी प्रशासन समेतको उपस्थिति रहेको थियो ।