एसपी रिपोर्टर
जनकपुरधाम, पुष ७ : जनकपुरधाममा शनिवार एकातिर एनपिएल पहिलो संस्करणको फाइनल प्रतिस्पर्धाका कारण स्थानियहरु घरमा टेलिभिजन सेट अगाडि बसिरहेका थिए भने अर्को तिर नागरिक अगुवाहरु जनकपुरधामको विकासमा महत्वपूर्ण योगदान दिएका दुईजना स्व. व्यक्तित्वहरुलाई स्मरण गरिरहेका थिए ।
विकास पुरुष भनेर चिनिने मकेश्वर सिंह (मकेश्वर बाबु) को १४ औं स्मृती दिवस र अर्का विकास पुरुष रामनारायण मिश्रको ५७ औं पुण्यतिथी शनिवार एनपिएलको लहरमा केहि ओझेलमा परेको जस्तो देखिएपनि स्व. दुवै व्यक्तित्वको योगदान जनकपुरधाम विकासमा उतिकै महत्वपुर्ण छ ।
शनिवार स्वर्गीय सिंहको स्मृति दिवसमा मकेश्वर बाबु सामाजिक प्रतिष्ठानले जनकपुरधाममा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो । सभामा सहभागीहरूले स्वर्गीय सिंहले जनकपुरधामको विकासमा पु¥याएको योगदानको चर्चा गरेका छन् । कार्यक्रममा प्रतिनिधीसभा सदस्य तथा पुर्व मन्त्री रामकृष्ण यादव, प्रदेश सांसद रामअशिष यादव, जनकपुरधामका पुर्वमेयर बजरंग प्रसाद साह, समाजिक अगुवा अमरचन्द्र अनिल, ई प्रकाशचन्द्र साह सहितका वक्ताले स्व. मकेश्वर बाबुको योगदान र समाजिक उत्थानका कार्यलाई स्मरण गरेका थिए ।
स्व. सिंहले जनकपुरधामको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको वक्ताहरुले चर्चा गरेका थिए । वक्ताहरुले मकेश्वर बाबु प्रेरणाको स्रोत भएको बताउनुभयो । उहाँहरुले आधुनिक जनकपुरधामको निर्माणमा करिब ६० वर्षसम्म सामाजिक सेवामा प्रतिबद्ध मकेश्वर बाबुले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रितेशकुमार सिंहले पछिल्लो समय सामाजिक सेवाका नाममा विकृतिहरू देखिन थालेको भन्दै दुःख व्यक्त गर्नुभयो । वहाँले यस्ता महापुरुषहरुको स्मरणमा टुर्नामेन्ट, स्मृती भवनहरु हुन नसक्नु दुःखद र आपत्तीजनक रहेको बताउनुभयो ।
सफल समाजसेवीका रूपमा चर्चित स्वर्गीय मकेश्वर सिंहले जनकपुरधामका धरोहरहरू अञ्चल अस्पताल, आँखा अस्पताल, रेडक्रस सोसाइटी, राराब क्याम्पस, अपाङ्ग संघ, सुस्त मनिस्थिति केन्द्र, सरस्वती, कन्या माविसहित दर्जनौ संस्थाहरूको संस्थापक भई जनकपुरधाम निर्माणमा योगदान दिनुभएको थियो । सिंहको जन्म १९८३ मा भएको थियो ।
२०३७ सालको जनमत संग्रहपछि वनमन्त्री बनेका सिंह २०२६ सालमा जानकी मन्दिर प्राङ्गनमा राजा महेन्द्रको प्रतिमा तोडफोड घटनामा जेलसमेत जानु परेको थियो । उहाँको २०६७ साल पुष ६ गते निधन भएको थियो । सो कार्यक्रमका बिच प्रतिष्ठानले यस वर्ष वरिष्ठ साहित्यकार तथा लेखक क्यान्सरवाट पिडित अशोक दत्तलाई ७५ सय राशी सहित मकेश्वर बाबु उत्कृष्ट समाजिक सेवा पुरस्कारबाट पुरस्कृत गरेको गरिएको छ ।
साहित्य, कला, गित र मैथिली भाषाको उत्थानका साथै पत्रकारितामामा पनि आफनो निरन्तर योगदान दिईरहँदा विभिन्न चुनौतीको सामना गरिरहेको भन्दै प्रतिष्ठानले साहित्यकार दत्तलाई पुरस्कृत गरेको स्व. सिंहका अर्का नाती पत्रकार रुपेश सिंहले बताए । कार्यक्रममा समाजका अगुवाहरु र बुद्विजिवीहरुको उपस्थिती थियो ।
विकास पुरुष राम नारायण मिश्रको स्मरण
जनकपुरधाममा कांग्रेसका नेताहरु तथा बुद्विजिवीहरुले विकास पुरुष तथा नेपाली कांग्रेसका स्व. नेता रामनारायण मिश्रको स्मरण गर्नुका साथै उनको योगदानको चर्चा गरेका छन् । स्वर्गीय मिश्रको ५७ औँ पुण्यतिथिमा भएको श्रद्धाञ्जलीसभामा नेताहरुले स्व. मिश्र सहितका नेताहरुले देखाएको मार्गमा हिन्न नसकेकै कारण कांग्रेस पछाडि परेको बताए ।
स्व. मिश्र विपी कोइरालाको प्रधानमन्त्री कार्यकालमा उद्योग मन्त्री हुँदा जनकपुरधाम चुरोट कारखाना स्थापना गरि यस क्षेत्रको आर्थिक अवस्था र समाजिक रुपाणतरनमा अहम योगदान पुरयाएका थिए । जनकपुरधाममा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी नेताहरूले स्वर्गीय मिश्रको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता स्वर्गीय मिश्रका सुपुत्र तथा मधेश प्रदेश पुर्व प्रमुख हरिशंकर मिश्र, प्रतिनिधीसभा सदस्य पुर्व मन्त्री रामकृष्ण यादव, प्रदेशसभा सदस्य पुर्व मन्त्री राम सरोज यादव, जनकपुरधामका मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, तमलोपाका नेता वृषेश चन्द्र लाल, डा. विजय कुमार सिंह, कांग्रेस नेता गणेश तिवारी, वरिष्ठ पत्रकार रामभरत साह, जिवनाथ चौधरी, प्रमोद चौधरी लगायतका सहभागी भएका थिए ।
नेताहरुले समाजलाई देखाएको दर्शन र उत्प्रेरणा हराउदै गएको भन्दै समाजिक सदभावमा त्यसैले पनि कमि आएको बताए । स्व. मिश्रको योगदान र अटल बिचारलाई स्मरण गर्दै नेताहरुमा अहिले विचार र विकास तथा समाजिक हितको सोच नै हराएको बताए ।
महोत्तरीका स्वर्गीय मिश्र २०१५ सालमा पहिलो जननिर्वाचित बीपी कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बन्नुभएको थियो । २०१७ सालमा पुष १ गते बहुदलीय संसदीय व्यवस्था खोसेका तत्कालीन राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । मिश्रको २०२७ साल पुष ६ गते निधन भएको थियो । मिश्र प्रजातान्त्रिक आन्दोलनका निष्ठावान व्यक्तिका रूपमा मानिनुहुन्छ ।