एसपी रिपोर्टर
जनकपुरधाम, पुष ५ : जनकपुरधाम उपमहानगरपालिकाको कार्यपालिका बैठक एमालेका वडाध्यक्षहरुले बहिष्कार गरेका छन् । बैठक लाइभ गरिए सहभागी हुने नभए बहिष्कार गर्ने भन्दै एमालेका वडाध्यक्षहरु बैठकबाट बाहिरिदै मेयर मनोज कुमार साहको विरोधमा प्रदर्शन गरेका छन् ।
एमालेका वडाध्यक्षहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि अन्ततः ५ महिनापछि कार्यपालिकाको बैठक डाकिएको थियो । यद्यपि नगरप्रमुख मनोजकुमार साह कार्यपालिका बैठकको लाइभ गर्न नदिने अडान लिएपछि एमालेका वडाध्यक्षहरु बैठक बहिष्कार गर्दै बाहिरिएका हुन् । यता बैठक भने एमालेका वडाध्यक्षहरु बिनै बसेको समेत बताइएको छ ।
नगरप्रमुख साहले आफूहरुकै दवाबमा कार्यपालिका बैठक डाकेको भएपनि हामीले राखेको मागमा उनले गम्भिरता नदेखाएपछि कार्यपालिका बैठक छोडेर बाहिरिनु परेको वडा नम्बर ८ का वडाध्यक्ष दिनेश सिंहले बताए । उनले भने ‘सुमन कार्की प्रशासकीय अधिकृत हुँदा नै कार्यपालिका बैठक लाइभ गर्नुपर्ने सहमति भएको थियो, तर नगरप्रमुख मनोजकुमार साह बहुमतको दम्भमा सहमतिलाई लत्याएका छन् ।’ कार्यपालिका बैठक लाइभ गर्ने वातावरण नबनेसम्म हामी कार्यपालिका बैठकमा सहभागी हुँदैनौँ वडा सिंहले अडान दोहराए ।
यता जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा निकटतम प्रतिस्पर्धी रहेका एमालेका शिवशंकर साह हिराले नगरप्रमुख साहले बहुमतको दम्भमा एक पक्षलाई बहिष्कार गर्ने वातावरणको निर्माण गरेको आरोप लगाए । उनले जनकपुरधाम उपमहानगरपालिकामा हुँदै आईरहेको भ्रष्टाचारलाई ढाकछोप गर्नकालागि कार्यपालिकाको बैठक लाइभ गर्नबाट पन्छिरहेको समेत बताए । उनले हाम्रो माग पूरा नगरिए चरणबद्ध आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।
मेयर मनोज कुमार साहले कुनै पनि बैठकको नियम तौतरिका हुने बताउदै बहुमत सदस्यहरु बैठक लाइभ गर्न नहुने पक्षमा रहेकाले आफुले नमाने पछि असन्तुष्ट साथीहरु बाहिरएको बताए । बैठक पछि मेयर साहले दशैं खर्च र दिनुपर्ने सहयोग, पाँचवटा विद्ययेक र विभिन्न परियोजनाको कार्यविधी बैठकबाट पास गरिएको बताए ।