एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १३ : जनकपुरधाममा प्रत्येक वर्ष मनाइने श्री सीताराम विवाहपञ्चमी महोत्सवको तयारी अन्तिम चरणमा छ । भारतको उत्तर प्रदेश स्थित श्री राम जन्मभुमिबाट जन्ती तामझाम र भब्यताका साथ निस्किसकेका छन् । यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले पनि विभिन्न तयारी थालेको देखिन्छ ।
केहि दिन अगाडि मात्र दुल्हा (भगवान श्री राम)को तिल्कोत्सव कार्यक्रमका लागि अयोध्या पुगेका मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह विवाह पञ्चमी नजिकिदै गर्दा अहिले मधेस भवनको पुरानो पर्खालहरुमा धमाधम मिथिला पेन्टिङ्ग गर्न लगाएर सजाउने काम गर्न लगाएका छन् । एकै पटक दर्जनौ चित्रकारहरु सो काममा लागि परेको देखिन्छ ।
पेन्टिङमा मिथिलाको संस्कृति, श्री सीतारामको विवाह र विधी, रहनसहन, खानपान, र विविधता झल्किने चित्रहरु बनाइदै छ । ५० जना स्थानीय कलाकार खटिएका छन् र २० लाख रुपैयाँ बजेटमा यो काम भइरहेको जानकारी गराइएको छ । मिथिला पेन्टिङ्ग गरिरहेकी पुनम झाले पर्खालमा सीताजीसंग सम्बन्धित चित्रहरु कोरिरहेको जानकारी दिइन ।
प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको पनि सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णवले बताए । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको उनले बताए ।
मंसिर १६ गते देखि सुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको छ । एक सातासम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते नगर दर्शनबाट सुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन स्वयम्बर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको दासले बताए ।