एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १ : नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाको खवर र त्यसका गतिविधीहरु संगै जनकपुरधाम र मधेशमा खेल जगतमा आफनो भविष्य देख्नेहरुमा आशा पलाउन थालेको छ । नेपाली खेलाडीहरुको पनि लाखौंमा विक्रि हुन लागेको, विदेशका चर्चित क्रिकेटरहरु नेपाली संग खेल्न आउन लागेको खवरहरुले मधेशको खेल क्षेत्र उत्साहित बन्दै गएको छ ।
यो जनकपुरधामको वडा नं. १४ रजौलमा प्रस्तावित रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला हो । टुर्नामेन्ट बाहेक सुनसान रहने रंगशालामा आज खेलाडी र युवा देखि बच्चाहरुको उत्साहवर्दक सहभागिता छ । शनिवार एनपिएलका लागि घोषणा भएको जनकपुर बोल्ट टिमले देश व्यापि कार्यक्रम अन्तर्गत आफना टिमलाई चाहिने दुईवटा खेलाडी छान्न जनकपुरधाम स्थित रंगशालामा आयोजना गरेको टाइलेन्ट हन्ट ईभेन्टमा खेलाडी मात्र होइन खेल्न चाहने बच्चा देखि युवाहरु पोशाक र अनुशासनमै सहभागिता जनाए ।
उनीहरु एनपिएलको आयोजनाले देश मात्र नभई खेलमा सुस्ताएको मधेशको युवाहरुमा आशा जागेको बताउछन् । मधेशको आठवटै जिल्लाका आधिकारिक निकाय क्यानका जिल्ला सञ्जालहरु पनि एनपिएलका कारण मधेश र जनकपुरधामको क्रिकेट विरासत अव पुनः लयमा फर्किने प्रसस्त सम्भावना उब्जाएको बताउछन् । क्यान धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे बिश्वमा नेपाल अव क्रिकेटका कारण पनि चिनिने र आफुहरुलाई गर्व लाग्ने बताए ।
खेलाडीको प्रतिभा अनुगमन गर्न व्यस्त जनकपुर बोल्टका कोच मनोज कटुवाल मधेशका खेलाडी र छनौट हेर्न आएका युवा देखि बच्चाहरुको उत्सुकता र उत्साहले पहिलो एनपिएल भव्य हुने र अव खेलाडी पनि बन्नु पर्छ भन्ने सपना र लक्ष्य प्राथमिकता पर्न थाल्ने सम्भावना देखिन थालेको बताउछन् ।
२०४० को दशकमै जनकपुरधाममा तत्कालिन जनकपुर चुरोट कारखाना, श्री महाविर युवा कमिटि सहितका बलिया क्रिकेट टिम सक्रिय थिए भने त्यसबाट राष्ट्रिय टोली सम्म पुग्ने खेलाडीहरु पनि धेरै थिए । नेपालमा क्रिकेट भन्ने वितिकै जनकपुरधाम स्मरण हुने भएपनि पछिल्लो समय जनकपुर र मधेशमा क्रिकेट सुस्ताएको थियो । तर देश विदेशमा नेपाली टिम र हुन लागेको एनपिएल जस्ता चर्चित क्रिकेटका ईभेन्टहरुले आशाको सृजना गर्ने काम गरेको छ भन्ने भौतीक संरचना र खेलमा लगानीका लागि राज्यलाई दबाब बढने छ ।