एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २६ : झापाको मेचीनगरबाट कांग्रेसको युवा संकल्प यात्रा सोमबार जनकपुरधाम पुगेका छन् । नेपाली कांग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पुर्व केन्द्रिय महामन्त्री भूपेन्द्रजंग शाहीलगायतको समन्वयमा कांग्रेस युवाहरुको समुह मेचीनगरदेखि महनेन्द्रनगरसम्म संकल्प यात्रामा रहेकोमा मधेश प्रदेशको राजधानी जनकपुरधाम आइपुगेको छ ।
सोमबार नेपाली कांग्रेसका पुर्व उपसभापति एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो निजि निवास जनकपुरधाममा यात्राका सहभागिहरुलाई स्वागत तथा सम्मान गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेको नेता निधिले युवा संकल्प यात्राको सम्पुर्ण टिमलाई सफलताको शुभकामना दिनुका साथै कांग्रेस जोडने सुत्र बनोस भन्ने कामना गरे । साथै समुहलाई नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालयमा जिल्ला सभापति योगेन्द्र पजियार, पुर्व सांसद तथा नेता दिनेश यादव प्रसैला सहितकाले सम्मान गर्दै छलफल गरेका छन् ।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर पूर्व–पश्चिम संकल्प यात्रा सुरू गरिएको शाहीले बताए । उनले सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने पनि शाही बताए । सहकारी पीडितलाई तत्काल राहत तथा बचत फिर्ता गरिनुपर्ने, उद्यमशीलता, नवप्रवर्तन तथा कृषिमा लगानी वृद्धि गरिनुपर्ने, सहकारी बचत ठगी गर्नेलाई कारबाही गरिनुपर्ने बताए ।
‘गल्ती गर्नेहरू जेल जान्छन् यसमा आग्रह र पूर्वाग्रह भन्ने हुँदैन । हामी सरकारलाई आग्रह गर्दछौं– सहकारी बचत दुरूपयोग गर्ने जुनसुकै पार्टी भए पनि कारबाही गरिनुपर्छ,’ ‘वाइडबडी, गिरीबन्धु टीइस्टेटलगायत काण्डबारे पनि यो सरकारले छानबिन गरियोस ।’ सहकारीमा नागरिकहरूले गरेको बचत फिर्ता हुनुपर्ने पनि उनले बताए। जनताको जीवनशैली परिवर्तनका लागि राजनीति केन्द्रित हुनुपर्ने शाहीले बताए। ‘महँगी, मूल्यवृद्धि नियन्त्रणमा समेत सरकारले पहल गरोस ।
यात्रामा ४० जनाको टोली रहेको नेविसंघका केन्द्रिय सदस्य विनोद साही ठकुरीले जानकारी दिए ।
युवा संकल्प यात्रामा सविधानसभा सदस्य एवं नेविसंघका पुर्व केन्द्रीय सभापति रंजित कुमार कर्ण, युवा नेताहरू धमेन्द्र नेम्वाङ‚ पशुपति पोखरेल,शेख वकिल‚ प्रेमिका राना‚ नरेश यादव‚ चन्द्रा देवी जोशी लगायत रहेका छन् ।
त्यस्तै राष्ट्रिय कलाकारहरू राधिका हमाल‚ उदिराम खड्का‚ सुनिल थापा‚ लेलिया विश्वकर्मा र उनीहरूले युवामैत्री सन्देशमूलक गीतहरूको माध्यमबाट सांस्कृतिक प्रस्तुति गर्दै आएको बताए ।
युवा संकल्प यात्रा कार्तिक २३ गतेदेखि आरम्भ भएको छ ।