एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २६ : मौलिक सामा चकेवा जर्गेनाका लागि जनकपुरधाममा छ दिवसीय सामा–चकेवा मुर्तिकला निर्माण कार्यशाला सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा सुरु भएको कार्यशालाको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले माटो सनेर समुदघाटन गरेका छन् ।
मुख्यमन्त्री सिंहले मौलिक संस्कृती बचाउन पछिल्लो समय भइरहेको समाजिक अभियान सकारात्मक रहेको बताउदै सरकारहरुले मात्र यस्ता अभियान गर्नु भन्दा घर परिवार र समुदाय स्तरबाटै पनि हुनुपर्ने बताए । संस्कृतविद्व डा. राजेन्द्र प्रसाद विमलले सामा चकेवाको थालनी, उद्देश्य र त्यसभित्रको नारी शक्तिको महिमा बखान गर्दै माटोको मुर्ती बनाएर प्रदर्शनी गरेर मात्र नहुने भन्दै सामा चकेवाले दिन खोजेको सन्देश र ध्येयको आत्ममनन गर्दै व्यवहारमा लागु गर्नुपर्ने बताए ।
मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले आफुहरुले दश वटा टिम भाग लिने लक्ष्य राखेको भएपनि झापा सम्मको गरि हाल सम्म करिव डेढ दर्जन टिम सम्पर्कमा आएको बताए । उनले २९ गते जानकी मन्दिर प्रांगनमा सबै टिमले बनाएको सामा चकेवा सहित बाहिरका टिमहरुको समेत खुल्ला सहभागितामा सामा चकेवाको प्रतियोगितात्मक प्रर्दशनी हुने बताए ।
सो अवसरमा जिविस धनुषाका पुर्वसभापति समेत रहेका कांग्रेस प्रदेश सांसद राम सरोज यादव र एमाले नेता रामचरित्र साह सहितकाले मैथिली विकास कोषको स्थापनामा आफुहरुले देखेको सपना भन्दा पनि अगाडि बढेर कोषले नयाँ भब्य भवन पाउनु र यस्ता गतिविधीहरु आफनै भवनमा सार्थक हुन सक्नु खुसीको कुरा रहेको बताए ।
सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौंका कुलपति नारदमणि हार्तमछाली, चित्रकला विभाग प्रमुख दिनेश्वर महतो सहित जनकपुरधामका मैथिली अभियानी, चित्रकार सहितको उपस्थिती थियो ।