एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक २६ : नेपाली कांग्रेसका नेताहरुले वर्तमान प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र र त्यसका उपलब्धी मास्ने कुनै पनि कदम मान्य नहुने भन्दै त्यसो हुन नदिने बताएका छन् । धनुषाको निर्वाचन क्षेत्र नं. ३ को नगराईनमा आयोजित स्व. नेता नेवी आलमको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पुर्व उपसभापति तथा पुर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधी र वर्तमान सहमहामन्त्री महेन्द्र यादवले एकै स्वरमा भने, ‘संघिय गणतन्त्र जस्तो उत्कृष्ट व्यवस्था अरु छैन, यस विरुद्वका कुनै कदम सह्य हुन सक्दैन ।’
क्षेत्र नं. ३ का पटक पटक क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधी सहित पार्टीको संगठन निर्माणमा शिक्षक हुँदा सिन्धुली सहित धनुषा ३ मा आधिकार संगठन निर्माण प्रारम्भकर्ता नदाफ प्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिनिधीसभा सदस्य समेत रहेका निधीले स्व. नदाफ जस्ता कांग्रेसका योद्वाहरुले आफनो जिवनकालमै संघिय गणतन्त्रको सपना पुरा गरेर गएकाले उनीहरुको योगदानमा आएको वतर्मान व्यवस्थाको विकल्प हुन नसक्ने बताए ।
उनले सातवटै प्रदेशको सरकारलाई आफनै प्रहरी प्रशासन र कर्मचारी हुनुपर्नेमा कुनै विलम्व हुन नहुने र कुनै षडयन्त्र भए आन्दोलनमा जानुपर्ने पुनः दोहराए । सहमहामन्त्री यादवले नेवी नदाफ आफनै जिवनकालमा उपलब्धीहरु देश र जनतालाई दिएर मृत्युवरण गर्ने शौभाग्य प्राप्त गरेको बताउदै पार्टीको आन्तिरक पद र प्रतिष्ठा पाएपनि कांग्रेसले नदाफ जस्ता वास्तविक कमान्डरलाई कुनै सार्वजानिक पदमा नपुरयाई बईमानी गरेको स्वीकार गरे ।
नेता रामसरोज यादव, स्मृती नारायण चौधरी, जिल्ला सभापति योगेन्द्र पजियार, कुमरकान्त झा सहितका वक्ता नेताहरुले नदाफको संगठन प्रतिको भुमिका र योगदानको चर्चा गरे भने नेपाल प्रजातन्त्र सेनानी संघको केन्द्रिय सदस्य समेत रहेका स्व. नदाफलाई संघका केन्द्रिय अध्यक्ष बालकृष्ण दाहालले श्रद्धाञ्जली पत्र उनका छोरालाई हस्तान्तरण गर्दै नदाफलाई स्मरण गरे । दाहालले नदाफको नाममा सडक, चौक सहितका कुनै स्थाई संरचना स्थापित गरेर सम्मान गर्नुपर्ने बताए ।
सो अवसरमा संघका धनुषा अध्यक्ष तथा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी रामभरत साह, नेताहरु ललन चौधरी, धिरेन्द्र लाल कर्ण सहितकाले नदाफको पार्टी र संगठनमा प्राप्त योगदान र गलनशिलता तथा ईमान्दारिताको चर्चा परिचर्चा गरेका थिए । ७० वर्षको उमेरमा नदाफको गत कार्तिक ५ गते निधन भएको थियो ।