पुरन रौनियार
जनकपुरधाम, कार्तिक १० : गत वर्ष पनि तिहारको पुर्व सन्ध्यामै भूमि लोक उत्सव २०८० आयोजना भएकाले घरायसी अति जरुरी काम हुँदा हुँदै पनि कार्यक्रममा समयमै पुगेको मलाई याद छ । त्यसबेला म त्याँहा पुग्नै पर्ने अर्को पनि थप एक कारण वा आकर्षण थियो मैले एकदमै मन पराउने भोजपुरी लोक गायिका कल्पना ।
गायिका कल्पनाको प्रतिक्षा गर्दा गर्दै उनि अलिक ढिलो आएकाले पुरै सांस्कृतिक कार्यक्रम हेर्न भ्याएको थिए । नाम र प्रसिद्विले मात्र होइन कल्पना वास्तविक आफनो प्रस्तुतीले पनि त्यसवेलाको उत्सवको मुख्य आकषर्ण बनिन् । उनको छठ, भोजपुरी लोकगीत सहितका सुमधुर र बेजोड प्रस्तुतीहरुले कार्यक्रमको अन्तिम समयमा दर्शक झुमेका थिए ।
यस वर्ष भन्ने कल्पनाको कदको कुनै पनि कलाकार आउने प्रचारवाजी र समग्रमा पनि कार्यक्रम बारे त्यस अनुसारको प्रचारप्रसार नभएकाले दर्शक कति पो आउने हुन कुन्नी ? भन्ने आशंका थियो । तर साँझको उपस्थितीले सावित भयो, जनकपुरधामका दर्शक कार्यक्रमको ध्येय, आयोजनको उद्देश्य र समग्र स्वाद बारे जानकार हुन थालेका छन् ।
गत वर्षको भूमि लोक उत्सवमा प्रस्तुत भएको मैथिली, भोजपुरी, थारु सहित विभिन्न भाषाका मौलिक र चर्चित लोकगितहरुको स्वाद जनकपुरधामका दर्शक मानसपटलमा राखिरहेको भान आज मलाई भइरहेको थियो । तिरहुतिया गाछी मैदानको करिव आधा हिस्सा घेरेर मञ्च बनाइएको अवस्थामा सिमित दर्शक देखिएपछि सबै दर्शक लोक कला संस्कृती, गित संगीत र नृत्यका पारखीहरुनै देखिन्थे । जो त्यहाँ पुगेका थिए उ अडेका थिए ।
कुन बेला के स्वादको प्रस्तुती हुने हो भन्ने उत्सुकता र आयोजनको उद्देश्य अनुसारकै प्रस्तुतीको पारखी स्रोता र दर्शकहरु जम्मा भएको लाग्यो । उदघोषिकाले प्राविधिक तयारी गर्न समय लाग्ने भएकाले तब सम्म मेला घुम्न आग्रह गर्दा पनि कार्यक्रम छोडेर गईहाल्ने दर्शक धेरै देखिएन ।
हाम्रो टेलिभिजनको भाषामा ‘प्राईम टाईम’मा भएको रंजना झाको शास्त्रीय, लोक मिठास सहितको गितगान र मिनापको गिती नाटक ‘जानकी लिला’ले यस वर्षको भूमि लोक उत्सवलाई पुनः सार्थक पारिदिएको भन्दा त्यती अन्याय नहोला । झाको स्वर र यस अघि जनकपुरधाम बाहिर मात्र प्रदर्शन हुने गरेको मिनापको जानकी लिला हेर्न परिवार सहित आएका दर्शकहरु मज्जाले अडेर हेरिरहेको देखे । राजर्षि जनकले हलो जोत्ने क्रममा जानकी फेला पारेको र रामले धनुष तोड्दा उत्साह पूण बजेको दर्शकको ताली त्यसको प्रमाण थियो भने झाको सुमधुर स्वरमा शान्ति बनाएका दर्शकको प्रवृती अर्को थप प्रमाण पनि ।
अन्य प्रस्तुतीहरु पनि उत्तम र मौलिक भएपनि भगौलिक विविधता र चाहना, समय र त्यसबेला दर्शकको उपस्थितीले अलिक मलिन देखिए पनि समग्रमा भारतको विहार छेउमै रहेको मधेश र मिथिलाको केन्द्र जनकपुरधाममा भूमि लोक उत्सवले सभ्य र लोक संस्कृतीका पारखी स्रोता र दर्शकका लागि विस्तारै आकर्षणको केन्द्र र प्रतिक्षाको आयोजन बन्दै गएको महशुस मैले गरे ।
जनकपुरधाममा पछिल्लो समय आयोजना हुन थालेको विभिन्न स्वादका यस्ता कार्यक्रमहरु त्यसै अनुसारको दर्शकहरुलाई तयार गर्न थालेको छ । एकथरिका दर्शक सबै कार्यक्रममा पुग्ने तर केहि बेर मात्र टिक्ने प्रवृतिको देखिन्छ भन्ने एक जमात कार्यक्रमको मर्म बुझेर सोहि अपनत्वका साथ पुग्ने र सोहि अनुसारको उपनत्व र समय प्रदान गरेर कार्यक्रममा सहभागि हुन थालेको दृश्यले जनकपुरधाममा फरक फरक स्रोता र दर्शकको जमात निर्माण गर्न थालेको देखिन्छ । आयोजक भूमि फाउन्डेशनका प्रभात झा भन्छन, ‘लक्ष्य प्राप्ती विस्तारै हुने हो एकैपटक हुनुपर्छ भन्ने हामिले पनि सोच्ने विषय होइन तसर्थ विस्तारै हुन्छ भन्नेमा आशावादी छौं ।’