एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक ७ : मौलिकता र पुर्खयौली विरासत अझै पनि शहर भन्दा गाँउले बचाईरहेको स्पष्ट उदाहरणको यो जनकपुरधाम उपमहानगर भित्रको एक गाँउ बसहिया । यहाँका कुम्हाल समुदाय समुदाय आफना पुर्खयौली पेशा मात्र बचाइरहेका छैनन माटोको उत्पादन प्रति निकै आशावादी र उत्साहित पनि देखिन्छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २४ पर्ने यो गाँउ हो बसहिया । यहाँ कुम्हाल जातीको एक टोल नै छ जो खासगरि दिपावली, छठ, सरस्वती पुजा सहित माटोका स्थानिय उत्पादन प्रयोग हुने चाडपर्वमा अति व्यस्त भइहाल्छन् । विदेश नगएका जुनसुकै पुस्ता महिला हुन कि पुरुष सवै आ आफनो हिसावले स्थानिय मलिलो माटोले बन्ने मुर्ती, दियो, घैटो, ढकनी, कोशिया कुरबार र हाती बनाउन व्यस्त छन् । घर बाहिर माटोको ढेरी, पराल र गोबरले बनाइएको गुइठा थुपारिएको छ, आँगनमा माटाले समाग्री बनाइदै छ भन्ने ति समाग्रीलाई पराल र गुईठामा आगोबालेर पोल्ने काम धमाधम भइरहेको छ ।

करिव एक दशक अगाडि सम्म आधुनिक बिजुली बत्ती र भाडावर्तनको बजार प्रभावका कारण धरासयी बन्दै गएको उनीहरुको पेशा पुनः बढदै गएको यस्ता माटो समाग्रीको प्रयोग र मांगका कारण जुरमुराउन थालेका छन् । बसहियाका युवा रमण पण्डितको एक भाई विदेश गएकाले आफु यसै काममा लाग्ने भन्दै युटयुवमा देखेर ईलेक्ट्रीक मोटरको प्रयोग गरि दिनमा हातले बनाउने भन्दा दोब्बर माटोको वर्तन उत्पादन गर्न थालेको बताउछन् ।
उनले आफु युटयुवमा देखेपछि भारतको मुज्जपरपुर गएर २० हजारमा ल्याएको मोटरको प्रयोगले दैनिक दोब्बर उत्पादन गर्न थालेको बताउछन् । चाडपर्वमा मात्र नभई डेरी उद्योग र होटलहरुमा समेत यस्ता समाग्रीको मांग बढन थालेपछि आफुहरुलाई भ्याईनभ्याई रहेको उनीहरु बताउछन् । समाजिक सञ्जालहरुमा पुनः मौलिक माटो र स्थानिय स्रोत साधन प्रयोगले बनेकै समाग्री मात्र चाडवाडका लागि पवित्र हुने र यस्कै प्रयोग गर्नुपर्ने अभियानहरु चल्न थालेपछि बजार भाउ पनि बढदै गएको उनीहरुको तर्क छ ।

बाजे, बुवा र छोरा तिन पुस्ता मेहनत गरि समानलाई आकार दिने काममा व्यस्त देखिन्छन भने घरकी महिलाहरु समान व्यवस्थापन र भण्डारणमा सहयोग गरिरहेकी छन् । ममिलो माटोलाई एकदमै मेहनत गरि सान्ने (मिलाउने), विभिन्न प्रविधी प्रयोग गरि त्यसलाई विभिन्न आकारको समाग्री बनाउने, पराल र गाईबस्तुको गोवरले बनेको गोइठा बालेर त्यसलाई पकाउने र बजारमा बेच्ने उनीहरुको काम छ । यद्यपि उनीहरुले शहरका व्यवसायीलाई पाँच रुपैयामा बेच्ने यस्ता समान शहर बजारमा दश देखि बिस रुपैया सम्ममा विक्रि हुने गरेको छ ।
यो एक्लै हुने काम होइन, सोहि ठाँउ निवासी विपिन पण्डित भन्छन ‘तर घरका सबै सदस्य मिलेर व्यवसायीक रुपमा गर्ने हो भन्ने अव यस्को भविष्य छ, यँही कमाएर परिवारका साथ बाँच्न सकिन्छ ।’ यस्ले उनीहरुमा आफनो मौलिक पुर्खयौली पेशा प्रतिको आशा र उत्साह स्पष्ट गर्दछ । धनुषाको १७ पालिकामा हजारौं यस्ता काम गर्ने घर परिवारहरु छन् ।

बढदो फ्रिज र एसीको प्रयोगले विभिन्न रोग प्रकोपहरु बढदै गएपछि शहरी बजारमा पनि अव पुनः पानी पिउन माटोको घैटो, होटल सहितकोमा पनि माटोका मौलिक सरसमान प्रयोग हुन थालेकाले स्थानिय सरकारले यस्ता समुदाय र समुहसंग समन्वय र सहयोग गरेर यस्ता स्थानिय रोजगार उत्पादनका घरेलु उद्योगहरु प्रर्वद्वन गर्न आवश्यक छ ।