एसपी रिपोर्टर
जनकपुरधाम, कार्तिक १ :
नेपाल सद्भावना पार्टीले महाधिवेशन गर्ने तयारी गरिरहेको समयमा नेतृत्वलाई लिएर विवाद उत्कर्षमा पुगेको छ । रामकुमार महतोले आफूलाई पार्टीको अध्यक्ष दावी गरेपछि नेपाल सदभावना पार्टीमा विवाद उत्कर्षमा पुगेको हो ।
पार्टीको अध्यक्ष को रहेको समयमा एक समुहले पत्रकार सम्मेलन गर्दै महतोले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएको छ । महाधिवेशन आयोजक समितिका सहसंयोजक गोविन्द चौधरीले अहिले पार्टीमा कोही पनि अध्यक्ष नरहेको र हामी महाधिवेशनको तयारीमा रहेको बताए । उनले मंसिर १, २ र ३ गते विरगंजमा हुने महाधिवेशन बिथोल्ने अभिप्रायले यस प्रकारको भ्रम सिर्जना गरिएको आरोप लगाए ।
उनले तत्कालिन अध्यक्ष रामकुमार महतो पार्टी परित्याग गरेर नागरिक उन्मुक्तिमा प्रवेश गरि सकेको र उनको श्रीमती कविता कुमारी समेत सरकारी जागिरे रहेकाले उनीपनि पार्टीको अध्यक्षबाट राजिनामा दिई सकेको अवस्थामा कोही पनि अध्यक्ष अहिले नरहेको जानकारी दिए । पार्टीमा नेतृत्व गर्ने कोही नरहेको अवस्थामा पार्टीलाई नेतृत्व प्रदान गर्ने गरी महाधिवेशन गर्ने तयारी हाम्रो रहेको चौधरीले बताए । यसका लागि रामचन्द्र कुशवाहाको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाइएको र निर्वाचन आयोगको बाध्यकारी नियमका कारण रामकुमार महतोलाई समेत आयोजक समितिको सहसंयोजक बनाइएको उनले बताए ।
महाधिवेशनबाट नेतृत्व चयन गर्नुका साथै पार्टीको विधान समेत निर्माण गरेर पारित गरिनेछ ।