एसपी रिपोर्ट
जनकपुरधाम, असोज १५ :
मधेश प्रदेश सरकारका उर्जा तथा सिचाई मन्त्री शेष नारायण यादवले प्राथमिकताका आधारमा बाढीले क्षतिग्रस्त नदी तटबन्धमा तारजाली गरेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
मंगलवार धनुषाको मिथिला नगरपालिकाका विभिन्न वडाको बाढी प्रभावित क्षेत्रको निरिक्षणको क्रममा मन्त्रालय मातहतका जलश्रोत तथा सिचाई विकास कार्यालयलाई निर्देशन दिएका छन् ।
प्राविधिक टोलीसहित मन्त्री यादवले मिथिला नगरपालिकाको वडा नम्बर २, ९ र ११ को बाढीले क्षतिग्रस्त बनाएका खोलाका तटबन्धहरुको निरिक्षण गरेका हुन् । नगरपालिकाको वडा नम्बर २ स्थित सुखजोर टोलमा बसही खोलाले गरेको तटबन्ध कटानका कारण दुई दर्जनभन्दा बढी घर परिवार जोखिममा परेका छन् ।
गत बिहीवारदेखि भएको अबिरल वर्षाको बाढीले सो खोलाको करीब दुई सय मीटर तटबन्ध भांसिएर क्षतिग्रस्त भएको छ । अब बाढी आए ती घरहरू कुनैपनि बेला भांसिएर बग्न सक्ने अवस्था रहेको छ । निरिक्षणको क्रममा मन्त्री यादवले प्राविधिक टोलीमा रहेका डिई श्याम साफीलाई जोखिममा रहेका घरहरु बचाउन तत्काल एक साताभित्रै तारजाली सहितको व्यवस्था गर्न निर्देशन दिए ।
यस्तै औरही खोलाले क्षतिग्रस्त नगरपालिकाको वडा नम्बर ९ बेंगाडावरस्थित खम्बा सिंह टोल र पोखरी टोलका क्षतिग्रस्त तटबन्धको समेत निरिक्षण गरेका छन् । औरही खोलामा आएको बाढीले बालुवाले मुहान ढाकिएका कारण बाढीको पानी बाटो परिवर्तन गर्दा करीब दुई विग्घा जग्गा नै कटान गरेको छ । मन्त्री यादवले तत्काल बालुवा हटाएर मुहान खाली गराउन मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो निर्देशन दिदैं प्रदेश सरकारबाट हुने सहयोग गर्ने बताए ।
यस्तै वडा नम्बर ११ स्थित लोटा, लामा, डांडा, जुटपानी र बाहुनमारा टोलको बाढी प्रभावित क्षेत्रको समेत मन्त्री यादवले निरिक्षण गरेका छन् । लोटा खोला, लामा खोला र मानकी खोलामा आएको बाढीले ३÷४ विग्घा खेती योग्य जग्गा नै कटान गरेको छ भने १० औं विग्घा जग्गा सहित वस्ती क्षेत्र समेत जोखिममा परेको छ । मन्त्री यादवले निरिक्षण गर्दै प्राविधिक टोलीले नापजोख गरी क्षतिग्रस्त क्षेत्रको यकिन गरी दिएको विवरणको आधारमा तत्कालै तारजालीले व्यवस्थापन कार्य अघि बढाउने स्थानीयलाई प्रतिबद्धता जनाए ।
यसैबीच मन्त्री यादवले मन्त्रालय मातहतका प्रदेशका ८ वटै जिल्लामा रहेका जलश्रोत तथा सिचाई विकास कार्यालयलाई बाढीले क्षतिग्रस्त भएका नदी तटबन्धको विवरण तत्काल व्यवस्थापन गर्नुपर्ने प्राथकिताका आधारमा तथ्यांक संकलन गरी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।
मन्त्री यादवले भने प्रदेशका ८ वटै जिल्लामा गएर क्षतिग्रस्त नदी तटबन्धको विवरण आफै गएर संकलन गर्ने अवस्था नरहेकाले मन्त्रालय मातहतका कार्यालयलाई तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको हुँ । कार्यालयले बुझाएको प्रतिवेदनको आधारमै आवश्यकता र प्राथमिकता हेरेर व्यवस्थापन गर्ने कार्य अघि बढाइनेछ ।
सो निरिक्षण टोलीमा मन्त्री यादवसँगै मेयर महतो, प्रदेश सांसद कुमरकान्त झा, कांग्रेस किसान संघ धनुषाका अध्यक्ष श्याम यादव, क्षेत्रिय सभापति योगनारायण यादव, कांग्रेस नेता घनश्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । मन्त्री यादवले आइतवारदेखि नै बाढी प्रभावित क्षेत्रको निरिक्षण कार्यलाई निरन्तरता दिएका छन् ।