एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ : जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएका सबै ९ थुनुवाहरुलाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ । सोमवार विहान करिब ३ः०० बजेको समयमा ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको थियो ।
सो मध्ये एक जना जनकपुरको जनकचोकबाट तत्कालै पक्राउ परेको थियो भने सोमवार राती सम्म सबैजना पक्राउ परिसकेको मधेश प्रदेश प्रहरी प्रमुख लालमणी आचार्यले बताएका छन् । प्रदेश प्रहरी, धनुषा र महोतरी प्रहरी, अनुसन्धान, सशस्त्र प्रहरी र सिमा सुरक्षाबलको सहयोगले सबै फरार थुनुवाहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा सोमबार बिहान करिव सावा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ९ जना थुनुवा फरार भएको हो । फरार मध्येहरुमा ५ जना लागु औषध मुद्दामा अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।
उनीहरुमध्ये अभद्र व्यवहारको महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परिसकेका थिए । अमित कुमार झा, रँजीत मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागु औषध मुद्दाका थुनुवा हुन । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन् । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए । थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।
थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ ।