एसपी रिपोर्टर
जनकपुरधाम, असोज ६ :
मधेश प्रदेशका जिल्लाहरूमा ८ सय ७४ जना नयाँ कुष्ठरोगी फेला परेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयले ससाकावा फाउण्डेशन र नेपाल कुष्ठ रोग संस्थाको सहयोगमा आज जनकपुरधाममा आयोजना गरेको कुष्ठ रोग प्रभावकारी नियन्त्रण सम्बन्धि कार्यक्रममा निर्देशनालयका क्षय कुष्ठ रोग शाखाका प्रमुख राजवीर यादवले २०८०÷०८१ मा उक्त संख्याका नयाँ रोगी फेला परेको जानकारी दिए ।
कुष्ठरोगको क्षेत्रमा औषधि सहितका विश्वमा नै कुष्ठरोगीको पुनस्र्थापना सहितको क्षेत्रमा समुदायमा सहयोग गर्दै आएको जापानको सासाकावा फाउण्डेशनको प्रतिनिधिहरुको सहभागितामा भएको सो कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै यादवले अहिले प्रदेशको सप्तरी बाहेक ७ जिल्लामा नयाँ र पुरानो गरेर १ हजार १० जना कुष्ठरोगीहरु स्वास्थ्यकर्मीको निगरानीमा औषधि नियमित रुपमा खाइरहेको जानकारी दिए ।
नेपालमा २ हजार ५ सय २२ जना कुष्ठ रोगी रहेकोमा त्यसको ३७ प्रतिशत रोगी मधेश प्रदेशमा नै रहेका छन् । सामाजिक मान्यता तथा रुढीबाढीका कारणले धेरैले कुष्ठ रोग लुकाएर बसेका कारणले यो सङ्ख्या अझै बढी समुदायमा हुने अनुमान मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाको रहेको छ । खोजतलासको काम घर घरमा गर्न जरुरी रहेको उनले बताए । प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम कुष्ठरोगी भएपछि मात्र कुष्ठरोग उन्मूलन भएको मान्ने विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइन रहेको छ । नेपालका ३४ जिल्ला पूर्ण रुपमा कुष्ठरोग उन्मूलन भएको जिल्ला भएपनि अन्य जिल्लाहरूमा रोगी रहेको पाइन्छ ।