एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २२ : जनकपुरधामको रामचौक स्थित श्री गणेश युवा कमिटिले हरेक वर्ष आयोजना गर्ने श्री गणेश पुजनोत्सवको रौनक यस वर्ष पनि खुबै छ । रामचौक स्थित श्री गणेश मन्दिरलाई दुल्ही झै श्रृङ्गारिएको छ भने चौक स्थित श्री राम टावर सहित चौकलाई नै सजाईएको छ ।
कमिटिका पदाधिकारीहरुको सक्रियतामा यस वर्ष पनि शनिवार देखि चार दिन सम्म पुजा, मेला उत्सव सहित विभिन्न धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको छ । आज शनिवार साँझ रामचौकमा सबै भन्दा बढि भिडभाड हुने छ ।

सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो । यसका आलावा जनकपुरधामको जनकचौक सहित मधेशका विभिन्न गणेश मन्दिरका साथै गणेश चतुर्थीका अवसरमा काठमाडौं उपत्यकाका सूर्यविनायक, कमलविनायक, अशोकविनायक, चन्द्रविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।