एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १७ : मधेशको राजधानी जनकपुरधाममा एक त चर्को गर्मी र घाम त्यस माथी जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनको सरगर्मी उच्च छ । नयाँ नेतृत्व र कार्यसमितिका लागि अगामि २९ गते हुन लागेको निर्वाचनमा १७ पदका लागि कुल ४३ जनाले उम्मेदवारी दिएर मैदानमा सक्रिय छन् ।
यसै बिच निर्वाचनबाट चुनिने १७ सदस्सीय कार्यसमितिमा एक पुरुष र एक महिला उपाध्यक्ष गरि दुईजना उपाध्यक्षको व्यवस्था भएकोमा एतिहाँसिक रुपमा पहिलो पटक पुरुष उपाध्यक्षमा सर्वसम्मती भएको छ । लक्ष्मण साह बिश्वनाथ साह सुडी दुईजना उम्मेदवार रहेको सो पदमा बिश्वनाथले लक्ष्मणलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि लक्ष्मण साह उपाध्यक्ष सर्वसम्मत हुन सफल भएको छ ।
यस कार्यलाई अहिले जनकपुरधाम र समाजिक सञ्जालमा एतिहाँसिक सफलताका रुपमा चित्रण गरिदै छ र यस्मा मैले पहलकदमी लिएको देखाउदै धेरैले आ आफनो जश लिन अग्रसरता देखाईरहेको देखिन्छ । तर यर्थात त के हो भने लक्ष्मण चुनाव जित्ने निश्चित थियो । गत २०७८ सालकै निर्वाचनमा पनि लक्ष्मण जित्ने चर्चा नचलेको होइन तर उनी थोरै मतान्तरले पराजित भएका थिए ।
उनी पराजित हुँदा देखिनै उनी प्रति व्यापक सहानुभुति र समर्थन थियो त्यसैले उपाध्यक्षमा अरु भन्दा थोरै मात्र दुईजनाको उम्मेदवारी प¥यो । त्यती लोकप्रिय नरहेका बिश्वनाथ एकाएक उम्मेदवारी दिएका थिए त्यसमा पनि राजनितिक स्वार्थ लुकेको एक व्यापारीले बताए । केहि व्यापारी नेताले पहिला उनलाई उम्मेदवारी दिन उस्काएर पछि मैले मिलाईदिए भन्ने सन्देश लक्ष्मणलाई दिएर जसखानका लागि पनि उम्मेदवारी परेको हो भन्ने कुरा अहिले सावित भएको अगुवाहरु बताउछन् ।
सिमित रहेको महिलालाई लडाउने र राजनिति भजाउने खेल
एकातर्फ पुरुष उपाध्यक्ष पद सर्वसम्मत हुन सफल भएको छ भन्ने त्यही महिला उपाध्यक्ष पदमा दुईजना मात्र मुख्य दाबेदार रहेपनि कसैले मिलाउन चाहेका छैनन । जउबासंघ संग महिलाका लागि न प्रयाप्त पद छ न प्रयाप्त महिला उम्मेदवार नै तर पनि उनीहरुलाई मिलाउन कसैले चासो लिएका छैनन । महिला उपाध्यक्षमा औपचारिक तिनजनाले उम्मेदवारी दिए पनि मुख्य दाबेदार हुन ंिरंकु साह र माया साह । हुन त अन्तिम समयमा तेस्रो उम्मेदवार पनि बनेकी छिन सरिता ठाकुर ।
यसअघिको कार्यसमितिमा एक महिला उपाध्यक्ष र एक मनोनित महिला सदस्य गरि २१ सदस्यीय कार्यसमितिमा कम्तिमा दुईजना महिलाको स्थान सुरक्षित थियो । यसपालि देखि सक्रियता नरहेको भन्दै अनिवार्य महिला सदस्य पद पनि हटाइएको छ । अव हुने मनोनितमा महिला अटाउने कि नहि ? भन्ने कुराको जिम्मा अव हुने पुरुष अध्यक्षकै अधिकार भित्र राखिएको छ ।
जउबासंघको राजनिति र गतिविधीमा सक्रिय रहने महिला औंलामा गन्न सकिन्छ । त्यस्ता महिला अधिकतम भए आधा दर्जन हुन सक्छ । पसल, प्रतिष्ठान, उद्योग र व्यापार सञ्चालनका लागि दर्ता र प्यानको कागजी काम अधिकांश महिलाकै नाममा भएको भएपनि संघको गतिविधीमा ति आधा दर्जन महिला बाहेकको सक्रियता शुन्य छ ।
४ हजार ७६ मतदातामा प्रतिष्ठान सञ्चालकको नाम हेर्दा महिला तर पनि तिनजनालाई एकै महिला उपाध्यक्ष पदमा लडाएर राजनिति स्वार्थ पुरा गरिदैछ । सुरुमा सरिता ठाकुर सदस्यमा लडने कुरा थियो एक उम्मेदवारले भने, ‘तर एकाएक उपाध्यक्षमा ल्याइएर केहिले राजनिति गर्दैछन् ।’ एक महिला सदस्यले भनिन, ‘यि तिनलाई लडाएर यिनीहरुसंग रहेको महिला मत आफुतिर तानेर पद पडकाउने रणनिती तयार छ, तर के गर्नु महिलाहरु आफै बुझदिनन आफैमा लडिहाल्छन् ।’
मुख्य दाबेदार दुईजनामा रिंकु ब्युटिसियन र माया नक्कली ज्वेलरी (ग्यारेन्टी गहना पसल) को काम गर्छिन । वर्तमान कार्यसमितिमा दिपिका राय महिला उपाध्यक्ष, रिंकु महिला सदस्य र माया कार्यकारी सदस्य गरि २१ सदस्यीय कार्यसमितिमा तिनजना महिलाको उपस्थिती थियो । तर अव यि तिनजनामा एकजना मात्र निर्वाचित हुने र मनोनयनमा महिला अटाउन नसके कार्यसमितिमा मात्र एकजनाको उपस्थिती रहने छ ।
सम्मानजनक महिला मतदाता तर पद, राजनिति र निर्देशन पुरुषको
एसपी खवरले जउबासंघको यसपालिकाको मतदाता नामावलीको किताव उल्टाउदै जाँदा पहिलो क्रम संख्या एक देखि सय अर्थात एकसय मतदातामा मात्र २१–२२ जना महिला मतदाता फेला पारयो जो कि सम्मानजनक हो । त्यसपछि हामी क्रम संख्या १ सय १ देखि २ सय सम्म नियाल्दा थप २७ जना महिला मतदाता रहेको देखियो ।
अर्थात समग्रमा २० देखि ३० प्रतिशत सम्म महिला मतदाता रहेपनि संघको कार्यसमितिमा महिलाको उपस्थिती शुन्य र नाम मात्रको लागि छ भन्दा फरक नपर्ला । पेशागत हक र अधिकारका लागि स्थापित यस्ता छाता संगठन समावेशी हुन आवश्यक रहेको महिला मतदाताहरुको भनाई छ ।