एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ :
मुलुकको सर्र्वागिन विकासका लागि बाल मैत्री शासन आजको आवश्यक्ता रहेको जनकपुरधाममा आयोजित एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आयोजना गरेको प्रदेश बालमैत्री स्थानीय शासन अनुगमन समिति गठन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुकको निति निर्माणदेखि हरेक निर्णयमा बालबालिकाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताए ।
कार्यक्रममा मधेस सरकारका मुख्य सचिव लोकनाथ पौडेलले बालमैत्री शासनको अवधारण अनुरुप काम भईरहेको छ कि छैन भन्ने अनुगमन गरी यसलाई कार्यान्वयनमा ल्याउन तर्फ सबै केन्द्रित हुनु आवश्यक रहेको बताए । उनले यसै उद्देश्यले स्थानीय तहहरुमा अनुगमन समितिहरु ग्ठन गरिएको र यी अनुगमन समितिहरुलाई पालिकाले सक्रिय राख्नुपर्नेमा जोड दिए । मुख्यसचिव पौडेलले मधेस सरकारले आफ्नो नीति, कार्यक्रम तथा बजेटलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यता जागृति बाल तथा युवा सरोकारका अध्यक्ष तिलोत्तम पौडेलले बालमैत्री सरकारको अवधारणा अनुरुप स्थानीय तहहरु समेत बालमैत्री बन्ने क्रम शुरु भएको जानकारी दिए । उनले हालसम्म २३ वटा स्थानीय तहहरु बल मैत्री स्थानीय तह घोषणा भई सकेको बताए । त्यस्तै ६५ वटा वडा बालमैत्री वडा घोषणा भईसकेको जानकारी दिए ।
मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समाज कल्याण महाशाखा प्रमुख देवकुमारी खत्रीले स्थानीय तहहरुमा रहेका बाल अधिकारीहरुलाई बाल सरोकारको विषयमा अभिमुखीकरण कार्यक्रम चलाई रहेको जानकारी दिइन् ।