एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अझै पनि कांग्रेस तथा कम्युनिष्टले नै देश चलाउन सक्छ भन्नु महामुर्खता भएको बताएका छन् । जसपा नेपालको आधार संगठन निर्माण अभियान अन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोखला बनाई सकेकाले उनीहरुकोे भरमा देश छोडनु महामुर्खता हुने बताएका छन् ।
जसपा नेपालका अध्यक्ष यादवले मुलुक अहिले कमिशनतन्त्र, लुटतन्त्र तथा भ्रष्टतन्त्रमा ठूलै प्रगति गरेको आरोप लगाए । यो भ्रष्टतन्त्र, लुटतन्त्र तथा कमिशनतन्त्रको विकास हुनुमा नेपाली कांग्रेस, नेकपा एमाले तथा माओवादी केन्द्रको ठूलो भूमिका रहेको उनको भनाई थियो । यस्तै विकासका कारण मुलुकमाथी अहिले २४ खर्बभन्दा बढीको ऋण छ, यादवले भने ‘सहायताको नाममा लिएको वैदेशिक ऋणमाथी यिनीहरु नै रजाई गर्छन्, फलस्वरुप दिनदिनै नेपाली जनता ऋणको भारमुनि पिल्सिदै गईरहेका छन् ।’
बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस तथा कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा यीनै कांग्रेस, कम्युनिष्टहरुको हात रहेको आरोप लगाए । उनले यो अवधिमा देशको शैक्षिक स्तर, कृषिको अवस्था तथा औद्योगिकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोखला हुन पुगेको बताए । उनले भने ‘कांग्रेस तथा कम्युनिष्टहरुको शासनकालमा देशमा शिक्षा बरबाद भएको छ, किसानहरु कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारमा जान बाध्य भएका छन्, लाखौँ नेपाली नागरिकलाई रोजगारी दिएको उद्योग कलकारखाना ध्वस्त भएका छन् ।’
एक अर्को प्रसंगमा जसपा नेपालका अध्यक्ष यादवले मधेसले प्राप्त गरेको उपलब्धि मात्र नभई देश नै संकटमा फस्ने खतरा समेत रहेको दावी गरेका छन् । हजारौँको बलिदानीबाट प्राप्त संघिय लोकतान्त्रिक गणन्त्रात्मक व्यवस्थाका प्राप्त उपलब्धि खोस्न ठूला दलहरु लागि परेको आरोप लगाए ।